निषेधित क्षेत्र तोडेपछि विराटनगरमा झडप (अपडेट)

शनिबार, ०९ बैशाख २०८०
विराटनगर । कोशी नाम खारेज गर्दै पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधर र सुरक्षाकर्मीबीच विराटनगरको रोडशेष चोकमा शनिबार झडप भएको छ । झडपका कारण तनावको अवस्था भएपछि प्रहरीले केही शेल अश्रुग्यास प्रयोग गरेको थियो । आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ को शव श्रद्धाञ्जलीका लागि विराटनगर ल्याइएको थियो । शवलाई श्रद्धाञ्जलीका लागि रोडशेष चोकमा राख्ने भनिएको थियो । शवयात्राका क्रममा निषेधित क्षेत्र तोडेर सहभागीहरु अघि बढ्न खोजेपछि झडप भएको सुरक्षा निकायले जनाएको छ । रोडशेष चोकबाट लगभग २ सय मिटर दक्षिणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर आवतजावतमा रोक लगाइएको थियो । निषेधित क्षेत्र तोड्दै शवयात्रालाई अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको हो । झडप, अशुग्यास प्रहार र लाठी प्रहारका बीच रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । प्रदेश १ को नाम कोसी राखिएपछि त्यसको विरोधमा पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन् । कोसी खारेजीको माग राख्दै प्रदर्शन हुँदा गत चैत ५ गते ‘लाजेहाङ’ घाइते भएका थिए । त्यस बेला सार्वजनिक भएको भिडियोमा आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर प्रहार गरेको लाट्ठीले ‘लाजेहाङ’को टाउकोमा लागेको देखिन्छ । प्रहरीले आन्दोलनकारीकै लाठी प्रहारबाट उनी घाइते भएको जनाएको थियो । स्वास्थ्यमा समस्या भएपछि उनलाई चैत ८ गते उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारक्रममा चैत १० गते उनको मृत्यु भएको थियो । प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिले उनलाई शहीद घोषणा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आएको हो । मृतकको शव १ महिनासम्म प्रतिष्ठानमै थियो । राखियो । पोस्टमार्टमलगायत प्रक्रिया पूरा गरेर अन्त्येष्टिअघि श्रद्धाञ्जली सभा गर्न शनिबार शवयात्रा निकालिएको थियो । विभिन्न सवारीसाधन प्रयोग गरी सुनसरीको धरानबाट सुरु गरिएको शवयात्रा इटहरी हुँदै साढे १ बजेतिर विराटनगर आइपुगेको थियो । त्यसअघि धरान र इटहरीमा शवलाई श्रद्धाञ्जलीका लागि राखेर सभा गरिएको थियो । सरकारले ‘लाजेहाङ’लाई शहीद घोषणा गर्ने र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । कोसी प्रदेश सरकारले पनि ३ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । यसैबीच, विराटनगरको महेन्द्र चोकमा सभा सुरु भएको छ। लाजेहाङको शव सडकमा राखेर सुरु गरिएको सभालाई पहिचान पक्षधर नेताहरुले सम्बोधन गरिरहेका छन् । रोडशेष चोकमा गर्ने भनिएको सभा प्रहरीसँगको झडपपछि लगभग १ किलोमिटर उत्तरमा रहेको महेन्द्र चोकमा सारिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार