झुम्का कारागारमा भाइरल ज्वरो : चार दिनमा तीन कैदीको मृत्यु, ४०० बढी बिरामी

विहीबार, १९ भदौ २०८२
तस्बिर : फाइल

इटहरी । सुनसरीको झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदा चार दिनमै तीन कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा रहेका १ हजार ७९५ कैदीमध्ये ४०० बढी ज्वरोले ग्रस्त भएका छन् ।

बुधबार साँझ सप्तरी राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको हो । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादवलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको निमित्त जेलर राम निरौलाले जानकारी दिए ।

यसअघि भदौ १५ गते रामदेव उराउ र भदौ १६ गते सागर राईको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका उराउ पनि उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएर निधन भएका थिए । लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका राई भने शरीर नचल्ने समस्या देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहँदा मृत्यु भएको हो ।

कारागार प्रशासनका अनुसार अहिले १९ कैदी उपचारका लागि अस्पताल भर्ना छन् । सुरुमा ६ जना मात्र उपचारका लागि बाहिर पठाइएको भए पनि बुधबार राति स्वास्थ्यकर्मीको टोली पुगेर थप १३ जनालाई अस्पताल भर्ना गराएको थियो ।

जेलर निरौलाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपासँग सहकार्य गरेर कारागारमै शिविर सञ्चालन गरिएको छ । ‘चिकित्सकको टोलीले भाइरल ज्वरो भएको निष्कर्ष निकालेको छ, आत्तिनुपर्ने अवस्था छैन,’ निरौलाले बताए । उनका अनुसार बिहीबारको तुलनामा ज्वरोका बिरामी केही घटेका छन् भने थप परीक्षण भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार