इलाम : इलाम सदरमुकामदेखि जिल्लाकै उच्च स्थान सन्दकपुरसम्म अन्तर्राष्ट्रिय रेडपाण्डा दिवसको अवसरमा रेडपाण्डा म्याराथन आयोजना हुने भएको छ। १२ सय मिटर उचाइबाट सुरु हुने म्याराथन सन्दकपुरको ३६३६ मिटर उचाइसम्म ४४.२ किलोमिटर दूरीमा आयोजना हुनेछ।
रेडपाण्डा नेटवर्क र दीपज्योती युवा क्लबले संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगितामा सन्दकपुर गाउँपालिका, नेपाल प्रहरी, नेपाली सेना, पूर्वेली ट्याक्सी व्यवसायी सङ्घलगायतको सहकार्य रहनेछ। आयोजक सोनाम टाँसीले रेडपाण्डा संरक्षण, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि यो प्रतियोगिता आवश्यक भएको बताए।
गत वर्ष ताप्लेजुङमा भएको अन्तर्राष्ट्रिय म्याराथन सफल भएको अनुभवका आधारमा इलाममा निरन्तरता दिने उद्देश्य राखिएको छ। राष्ट्रिय स्तरको म्याराथन सम्पन्न गर्न कम्तिमा ४२ किलोमिटर दूरी आवश्यक पर्छ। प्राविधिक टोलीको अध्ययन अनुसार इलाम–सन्दकपुर मार्ग प्रतियोगिताका लागि उपयुक्त रहेको जनाएको छ।
प्रतियोगिता महिला, पुरुष र स्थानीय गरी तीन वर्गमा सञ्चालन हुनेछ। पुरुष र महिलातर्फ प्रथम हुने धावकलाई डेढ लाखसम्म नगद पुरस्कार दिइने छ भने स्थानीय श्रेणीमा प्रथम हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा इलाम, पाँचथर र ताप्लेजुङका स्थानीय धावक सहभागी हुनेछन्।
सन्दकपुर क्षेत्रमा सडक मर्मतको काम गाउँपालिकाले गरिरहेको छ। प्रतियोगिता सम्पन्न गर्न अनुमानित २२ लाख रुपैयाँ खर्च लाग्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार असोज ४ गते हुने म्याराथनले रेडपाण्डा संरक्षण र पर्यटन प्रवद्र्धनमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया