नेपाल आमाको मूर्ति निर्माणमा बजेट अभाव

विहीबार, १९ भदौ २०८२

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका-८ स्थित भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मूर्ति निर्माणका लागि बजेट अभाव भएको छ।

नेपालका साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण बजेट अभावले प्रभावित बनेको छ। जगतगुरु मोहनशरण देवाचार्यको पहलमा भम्केनी धाम विकास समितिले निर्माण गरिरहेको मूर्तिका लागि बजेट अभाव भएको समितिले जनाएको छ।

धाम विकास समितिका अध्यक्ष पुरन खत्रीले बजेट अभावले मूर्ति निर्माण कार्य अवरुद्ध भएको बताए। उनका अनुसार निर्माणाधीन मूर्तिको हालसम्म कमल आशन र खुट्टासम्मको भाग तयार गरिएको छ भने छातीसम्मको खाँचा तयारी गरिएको छ। त्यसका लागि आवश्वक धातु अभाव छ।

“मूर्तिको निर्माणका लागि मैन र माटोको छातीसम्मको खाँचा तयार भइसकेको छ, त्यसका लागि आवश्यक धातु छैन”,  अध्यक्ष खत्रीले भने, “धातु पलाग्न काठमाडौंबाट शिल्पकार मगाउनुपर्छ, हामीसँग थोरै मात्र धातु भएकाले अहिले पगाल्दा खर्च बढी लाग्छ।”

खाँचाका लागि आवश्यक धातु नहुँदा गर्मीका कारण मैन पग्लने सम्भावना भएकाले २०–२५ लाख रूपैयाँसम्म नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

२०७४ सालबाट सुरु भएको मूर्ति निर्माण कार्य पाँच वर्षमा सक्ने लक्ष्य लिइएको भए पनि कोरोना संक्रमणले एक वर्ष थपेर २०८० सम्म सक्ने लक्ष्य लिइएको थियो। मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग १० करोड ८१ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको छ।

मूर्ति निर्माणका लागि २५ देखि ३० टनसम्म अष्टधातु आवश्यक पर्ने अनुमान गरिए पनि कमल आशनमा मात्रै १० टन बढी धातु प्रयोग भएको र त्यसको मात्रामा थप बढ्ने देखिएको छ।

मूर्ति निर्माणका लागि स्रोत जुटाउन जगतगुरु मोहनशरण देवाचार्य देश दौडाहामा निस्किएका छन्। देवाचार्यले स्थानीय र प्रदेश सरकारबाट प्रतिबद्धता अनुरूप बजेट नपाएको बताए। उनले सरकारबाट आवश्यक सहयोग नपाएकाले स्वेदेशी तथा विदेशी दाताबाट सहयोग सङ्कलनका लागि पुनः देश दौडाहामा निस्किन लागेको बताए।

उनले यसअघि पनि मूर्ति निर्माणका लागि (२०७२ वैशाखदेखि २०७४ माघसम्म) नेपाललाई दाहिने पारेर परिक्रमा गरी २२ टनसम्म तामा, पित्तल लगायतका धातु सङ्कलन गरेका थिए। “अब स्वेदेशी तथा विदेशी भक्तजनसँग सहयोग माग्छु”, उनले भने, “पूर्व माननीय, मन्त्रीज्यू, स्थानीय सरकारबाट सहयोग आएको थियो, अहिले प्रदेश सरकारलाई तीन करोड रूपैयाँ बजेट माग गरेका थियौ, प्रतिबद्धता गरे पनि बजेट आएन्।”

साथै उनले मूर्ति निर्माणका लागि दाताहरूसँग सहयोगका लागि अपिल समेत गरेका छन्। मूर्ति निर्माण कार्य राष्ट्रलाई जोड्ने अभियान भएको पनि उनले बताए। नेपाल आमाको मूर्ति हेर्न नेपालभरिका मान्छे आउने र यसले धार्मिक पर्यटनको विकास गर्ने उनको विश्वास छ।

मूर्ति निर्माणमा हालसम्म दुई करोड ७५ लाख रूपैयाँ बढी खर्च भइसकेको र एक करोड रूपैयाँ ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको धाम विकास समितिले जनाएको छ। भम्केनी धामलाई महाकाली तटको शारदापीठ पवित्र धार्मिकस्थलका रूपमा विकास गर्ने योजना रहेको जनाइएको छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार