उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले

विहीबार, १९ भदौ २०८२

काठमाडौँ । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरूप दिने करिब ७५ करोड रुपैयाँ अनुदान रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगलाई उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखुको मूल्यअनुसार सो रकम किसानलाई पठाइएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार, किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५८५ रुपैयाँ र सरकारले ३० रुपैयाँ अनुदान दिने व्यवस्थाअनुसार रकम उपलब्ध गराइएको हो । उनले बताएअनुसार रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने व्यवस्था गरिएको छ । मन्त्रालयबाट पठाइएको रकम कतिपय किसानले प्राप्त गरिसकेको पनि जानकारी दिए ।

अघिल्लो वर्ष सरकारले प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिँदै आएकोमा बजेट अभावका कारण यसपटक रकम घटाएर ३५ रुपैयाँ मात्र उपलब्ध गराइएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने व्यवस्था भए पनि प्राविधिक कारणले निकासामा ढिलाइ भएको थियो । किसान भने समयमै रकम उपलब्ध गराउनुपर्ने र प्रोत्साहन रकम कटौती नगर्नुपर्ने माग गर्दै आएका थिए ।

सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासी लगायत जिल्लामा व्यवसायिक उखुखेती हुने गर्छ । सरकारले किसानलाई उत्साहित पारेर उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले अनुदान रकमको व्यवस्था गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार