उराँव समुदायको शैक्षिक र सामाजिक उत्थानमा विशेष ध्यान दिन देउवाको आग्रह

शनिबार, २१ भदौ २०८२

धरान : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उराँव समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा पछाडी पर्न नदिन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

आज सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा नेपाल उराँव संघले आयोजना गरेको करम पूर्वसन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै उनले उराँव समुदाय राज्यको विकास मूलधारमा समेटिन नसकेको भन्दै तत्काल विशेष योजना आवश्यक रहेको धारणा राखे ।

 “उराँव समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र आयआर्जनका अवसर दिलाउन केन्द्र, प्रदेश र स्थानीय सरकार सबैको जिम्मेवारी हुन्छ,” उनले भने, “यही कारण कांग्रेसले पनि नेपाल उराँव संघ गठन गरेर समुदायसँग सहकार्य गर्दै आएको छ ।”

देशभित्रका विविध जातजाति, भाषा, संस्कृति र पहिचान राष्ट्रको धरोहर हुन् र त्यसको संरक्षणसहित समुचित विकासमा सरकारले ध्यान दिन आवश्यक रहेको उनले बताए । देउवाले उराँव समुदायको सांस्कृतिक पर्व ‘करम’लाई समेत राष्ट्रिय स्तरमा चिनाउन सक्ने सम्भावना रहेको उल्लेख गर्दै यसलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए ।

शिक्षा र स्वास्थ्य सुविधाको कमीका कारण समुदायका धेरै परिवार अझै गरिबीको चपेटामा रहेको भन्दै यसमा सरकार ध्यान दिन जरुरी रहेको धारणा राखे । उनले करम पर्वलाई समुदायको सांस्कृतिक पहिचानका रूपमा निरन्तरता दिन समेत आग्रह गरे ।

उराँव समुदाय तराईमा जंगल फडानी गरेर बसोबास सुरु गरेका आदिवासी समुदायमध्ये एक हो । कृषिमा आधारित जीवनयापन गर्दै आएको यो समुदाय पछिल्ला वर्षमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको अभावले राज्यको मुख्यधाराबाट पछि पर्दै आएको उराँव समुदायको भनाई छ ।

नेपाल उराँव संघका अनुसार सुनसरी जिल्लामा मात्र करिब ४० हजार उराँव बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार