गोदावरीमा एमाले नेता–कार्यकर्ताको जमघट : तर निराश छन् स्थानीय व्यापारी

आइतबार, २२ भदौ २०८२

काठमाडौं । ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ।

महाधिवेशनका कारण सडकमा जाम हुने र आवतजावतमा असजिलो भएपछि गोदावरी घुम्न जाने पर्यटकहरू पसलसम्म नआएकाले बिक्री घटेको पसलका सञ्चालक बताउँछन्।

महाधिवेशनका लागि आएका प्रतिनिधिहरूको लागि खाना र खाजाको व्यवस्था भएका कारण प्रतिनिधिहरू बाहिरतिरका पसलमा चिया मात्र पिउनका लागि आउने स्थानीय व्यापारी दुर्गा मगर बताउँछिन्।

२५ वर्षदेखि गोदावरीमा व्यापार गर्दै आएकी दुर्गाले महाधिवेशनका कारण कारोबार बढ्ने आशामा थिइन् तर नियमित कारोबारमा समेत गिरावट आउँदा दुःख व्यक्त गरिन्।

उनले भनिन्, ‘महाधिवेशनको चहलपहल ठिकै छ। यतिको चहलपहल हरेक शनिबार भइरहन्थो। महाधिवेशनले ठिकै हो व्यापार यथावत नै छ। पहिलाको जस्तो छैन, आश गरे अनुसार धेरै कम छ।’

महाधिवेशनमा आउने प्रतिनिधिहरूका कारण पार्किङ अव्यवस्थित भएकाले आफ्नो पसलसम्म ग्राहकनै नपुगेको उनको भनाइ छ।

‘पसल अगाडि बाइकहरू राखिदिएर सबै छेकिदिन्छन्। पार्किङको व्यवस्था राम्रो छैन। पार्किङले पनि असर परेको छ। घुम्न आउने पर्यटक पनि फाट्टफुट आउनुभएको देखिन्छ। पसल छेकिएर सिधै गइहाल्नुहुन्छ,’ उनले भनिन्।

गोदावरी नगरपालिकाले गोदावरी क्षेत्रमा भएका अव्यवस्थित पसलहरु हटाएर स्मार्ट पसलको अवधारणा ल्याएको थियो। जसले गर्दा टहरो वा छाप्रोमै व्यवसाय सञ्चालन गर्नुपरेको उनले बताइन्।

‘पसल पनि पहिले आफैंले बनाउँदा राम्रो थियो। अहिले स्मार्ट पसलको अवधारणाका कारण राम्रो व्यवस्थापन गरेर पसल चलाउन सकिएको छैन्। सामान राख्छौ अहिले यस्तै छाप्रैमा चलाइरहेका छौ,’ उनले भनिन्।

यस्तै १५ वर्षदेखि उक्त क्षेत्रमा व्यापार गर्दै आएकी मिठु मगर पनि व्यापार नहुँदा चिन्तित छिन्। चाउचाउ, कुर्मुरे, पानी, चिप्स लगायतका खुद्रा सामानहरुको मात्र बिक्री गर्ने मिठुको व्यापार तीनदिन देखि ठप्पप्राय छ।

उनले भनिन्, ‘एमालेको महाधिवेशनले असर गरेको छ। व्यापार खास छैन्। चिया खानेहरु त हुन्छन्। म चिया बेच्दिन मेरो खुद्रा सामान मात्र हो। हिजोअस्ति व्यापार अलि अलि हुन्थ्यो। आज त्यो पनि छैन्।’

कम्तिमा दिनको दुई हजारसम्म भएपनि व्यापार हुनेमा अहिले ठप्प हुँदा उनी महाधिवेशनको अन्त्य पनि पूरानै कारोबारमा फकिर्ने आशमा छिन्।

‘अहिलेको माहोलले बाहिरका मानिसहरु आउन पाएनन्। जसले गर्दाखेरी व्यापार अलि घट्यो। अघिपछि त ठिकै छ। पर्सिबाट व्यपार होली कि,’ उनले भनिन्।

एमालेको विधान महाधिवेशनले सभाहल परिसरमै खाना, खाजा र चियाको व्यवस्था गरेकाले आसपासमा संचालित पसलहरुमा सोचे अनुसारको व्यापार नभएको गुनासो छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार