युवाहरुको आन्दोलनलाई रास्वपा सांसद अशोक कुमार चौधरीको समर्थन

सोमबार, २३ भदौ २०८२

काठमाडौँ : सामाजिक सञ्जाल प्रतिबन्ध, नातावाद र भ्रष्टाचारविरुद्ध ‘जेन–जी’ पुस्ताले सोमबार आयोजना गरेको आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले खुलेर समर्थन जनाएका छन्। उनले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुकमार्फत स्ट्याटस लेख्दै युवाको नेतृत्वमा सुरु भएको आन्दोलनलाई ऐतिहासिक कदम भएको उल्लेख गरेका छन्।

चौधरीले स्ट्याटसमा लेखेका छन्, “आजको आन्दोलनमा नेतृत्व लिएको Gen Z पुस्तालाई हार्दिक बधाई। राजनीतिबाट टाढा रहेको र अहिले सम्म मौन बस्ने पुस्ताबाट उठेको यो आवाजले नयाँ इतिहास लेख्ने सुरुवात होस्। समाज, भविष्य र अवसर — यी कसैले आएर बनाइदिने कुरा होइनन्। हाम्रो पुस्ताले आफैँ बनाउने हो, आफैँ निर्माण गर्ने हो। त्यसैले अब पर्खने होइन, अघि बढ्ने समय सुरु भएको छ।”

उनले शान्तिपूर्ण आन्दोलनलाई युवाको शक्ति भन्दै सहभागी युवाहरूसँग संयमित र सभ्य तरिकाले अघि बढ्न आग्रह गरेका छन्। चौधरीले भनेका छन्, “तपाईँहरूको हरेक कदमले नेपालको नयाँ अध्याय लेख्नेछ। शुभकामना।”

‘जेन–जी’को आन्दोलनलाई यसअघि काठमाडौँ महानगरका मेयर बालेन शाह, अभिनेता अनमोल केसी, गायक प्रकाश सपूतलगायत थुप्रैले समर्थन जनाइसकेका छन्। सोमबार राजधानीको माइतीघर मण्डलासहित देशका विभिन्न सहरमा शान्तिपूर्ण विरोध प्रदर्शन आयोजना गर्ने तयारी भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार