काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सोमबार जेन–जी पुस्ताले गरेको प्रदर्शनमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्।
थापाले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको बल प्रयोग र चरम दमनलाई “निन्दनीय र अक्षम्य” भनेका छन्। उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र समग्र घटनाको नैतिक जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने माग गरेका छन्।
उनले भनेका छन्, “सरकारको असंवेदनशीलताका कारण अनाहकमा धेरै युवाले ज्यान गुमाउनुपरेको हृदयविदारक घटनाले स्तब्ध बनाएको छ। यसमा प्रधानमन्त्री स्वयं जिम्मेवार छन्।”
थापाले आन्दोलनले उठाएका मुद्दा सुशासन, भ्रष्टाचार नियन्त्रण र जवाफदेहितासँग सम्बन्धित भएकाले तत्कालै उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार २०४६ सालपछि सार्वजनिक पदमा बसेकासहित सम्पत्ति छानबिन गर्न र सबै भ्रष्टाचार काण्डको अनुसन्धान गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन आवश्यक छ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै थापाले भनेका छन्, “अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्ने गरी लगाइएको प्रतिबन्ध असंवैधानिक छ। निर्देशिकालाई खारेज गरी सामाजिक सञ्जाल खुलाउनुपर्छ।”
उनले सुशासन दिन असफल भएको भन्दै दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारको औचित्यमाथि प्रश्न उठाएका छन् र यसबारे नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताएका छन्।
साथै, थापाले आम युवालाई संयम अपनाउँदै आन्दोलनका कार्यक्रम संवादमार्फत अघि बढाउन अपिल गरेका छन्।
प्रतिक्रिया