काठमाडौँ : भ्रष्टाचारको अन्त्य, सुशासन कायम हुनुपर्ने र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने माग राख्दै जेनजी पुस्ताले स्वतःस्फूर्त रूपमा गरेको आन्दोलनमा राज्यसंयन्त्रले अन्धाधुन्ध गोली चलाउँदा देशभर १९ जनाको मृत्यु भएको छ ।
देशभर १९ जनाको मृत्यु, ३४७ घाइते
काठमाडौँको बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा गोली लागेर १७ जना मृत्यु भएको छ भने इटहरीमा दुई जनाको जनाको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । इटहरीमा दुई जनालाई गोली लागेकामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको छ ।
प्रहरीले प्रहार गरेका रबरका गोली र पानीको फोहोरा लागेर ३ सय जनाभन्दा बढी घाइते भएका छन् । सामान्य घाइते उपचारपछि घर फर्किएका छन् भने गम्भीर घाइतेहरूको सिभिल अस्पताल, ट्रमा सेन्टर, एभरेस्ट अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताललगायतका अस्पतालमा उपचार जारी छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेर घाइते भएका ६६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । घाइतेमध्ये अधिकांशको टाउको, छाती र खुट्टामा गोली लागेको छ । विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ । सिभिलमा सय जना, ट्रमामा ६१, एभरेस्टमा १ सय २, केएमसीमा ३७, वीरमा ६, पाटन अस्पतालमा ४, त्रिवि शिक्षणमा १८ जना, नर्भिकमा ३ जना, बिपी प्रतिष्ठानमा ४, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ र दमक अस्पतालमा ७ जना उपचार भइरहेको छ ।
एभरेस्ट अस्पतालका अनुसार उपचाररत चार जनाको अवस्था गम्भीर छ भने ट्रमा सेन्टरमा उपचार गराइरहेका मध्ये १० जनाको अवस्था गम्भीर छ । प्रहरीले भने घाइतेमध्ये धेरैजसो उपचारपछि घर फर्किसकेको दाबी गरेको छ । प्रदर्शनका क्रममा भएको झडपमा केही सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।
सोमबार माइतीघर मण्डलाबाट सुरु भएको आन्दोलन बानेश्वरको निषेधित क्षेत्र तोडेर संसद् भवन छिरुन्जेलसम्म शान्तिपूर्ण थियो ।
जेएनजी अभियन्ताहरू रक्षा बम, युजेन राजभण्डारीलगायतले निषेधित क्षेत्र नतोड्न गरेको पटक पटकको आग्रहलाई बेवास्ता गर्दै अघि बढेको भीडले सुरक्षा घेरा तोड्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पर्खाल फोड्ने तीन वटै गेटमा आगजनी गर्नेलगायतका उत्तेजक गतिविधि गरेपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो ।
दिउँसो साढे १२ बजेसम्म एक जना पनि आन्दोलनकारी घाइते नभएको अवस्थामा कर्फ्यु लगाइएपछि सुरक्षाकर्मीले चरम दमन थालेको थियो ।
कर्फ्यु आदेशको उल्लङ्घन गर्दै आन्दोलनकारीले बानेश्वरको सम्मेलन केन्द्र परिसरमा आन्दोलन जारी राखेपछि प्रहरीले अन्धाधुन्ध रबरको गोली प्रहार गर्न थालेको थियो । यसक्रममा चार जना सञ्चारकर्मीसहित सयौँ प्रदर्शनकारी रबरको गोली लागेर घाइते भए ।
कर्फ्युको उल्लङ्घन गर्दै प्रदर्शनकारीले बानेश्वर, सिंहदरबार, माइतीघर र आसपासका क्षेत्रमा आन्दोलन जारी राखे । आन्दोलनकारीको समूह राजनीतिक दलका कार्यालयदेखि नेताका निजी निवासमा समेत केन्द्रित हुन थालेपछि काठमाडौँ उपत्यकाभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएपछि आन्दोलनकारी काठमाडौँका अन्य स्थानमा भेला हुन थालेपछि सिंहदरबार, राष्ट्रपति निवास शीतल निवास, उपराष्ट्रपति निवास कान्तिपथ, टुँडिखेललगायतका क्षेत्रमा पनि सरकारले मध्यरातसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
तर, आन्दोलनकारीले साँझसम्म माइतीघर मण्डला र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरलाई नै केन्द्र बनाएर प्रदर्शन जारी राखे । सेना र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिलाई बेवास्ता गर्दै जेनजीहरूले मानवअधिकार आयोगदेखि प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवालगायतका नेताहरूविरुद्ध चर्का नाराबाजी गरेका छन् । आन्दोलनकारीको निसानामा राष्ट्रिय मानवअधिकार आयोगको गाडीदेखि निजी र सार्वजनिक सवारीसमेत परेका छन् ।
प्रदर्शनकारीले उपत्यका मात्र नभई देशभर आन्दोलन तीव्र बनाएका छन् । जिल्ला जिल्लामा भएका आन्दोलनले उग्र रूप लिएपछि ठाउँ ठाउँमा कर्फ्यु आदेश जारी गरिएको छ भने स्थानीय तहदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयसम्म आक्रमणको निसानामा परेका छन् ।
जसले गुमाए आन्दोलनमा ज्यान
ट्रमा सेन्टरमा आठ जना
श्रीराम चौलागाईं (१९)
सुलभराज श्रेष्ठ (२१)
बुद्धिबहादुर तामाङ (२९)
सौरभ कटुवाल (२४)
गौरभ जोशी (२८)
ईश्वरबहादुर अधिकारी (अन्दाजी २६)
सौरभ किशोर श्रेष्ठ
सुवास पोखरेल
नाम नखुलेका (अन्दाजी २८)
नाम नखुलेका (अन्दाजी २६)
इटहरीका अभिषेक श्रेष्ठ (१८ वर्ष)
इटहरीका नाम नखुलेका १ जना
अन्य ७ जनाको पहिचान खुल्न बाँकी
अस्पतालमा जे देखियो
प्रहरीको चर्को दमन र गोलीका कारण दिउँसो १ बजेपछि बानेश्वरस्थित सिभिल अस्पतालको इमर्जेन्सी कक्ष रगताम्य देखिन थाल्यो । एम्बुलेन्समा घोली लागेका घाइते निरन्तर ल्याइन थालेपछि उपचार गर्ने चिकित्सकको अभाव एकातिर थियो भने अर्कोतिर प्रहरीले छेवैबाट प्रहार गरेको अश्रुग्याँसले सबैका आँखामा आँसु थियो ।
अस्पतालमा शय्या अभावका कारण गोली लागेका घाइतेको भुईँमै राखेर उपचार गरिएको छ । अस्पताले धान्न नसकेपछि गोली लागेर सामान्य घाइते भएका र कतिपय गम्भीर घाइतेसमेतलाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्थामा अस्पताल प्रशासन पुग्यो ।
सिभिल अस्पतालमा जस्तै वीर अस्पतालको ट्रमा सेन्टर, बानेश्वरमै रहेको एभरेस्ट अस्पतालसम्ममा गोली लागेर घाइते भएका बिरामीको चाप छ ।
अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि घाइतेको उद्धार गरेर अस्पताल लैजाने प्रक्रियामा जोडियो काठमाडौँ महानगरपालिकाको टिम । महानगरपालिकाको टिमले एम्बुलेन्समा राखेर बानेश्वर क्षेत्रका घरघरमा लुकेर बसेका घाइतेको उद्धार गरेर सिभिललगायतका अस्पतालमा लगेको थियो ।
प्रहरीले अस्पताल परिसरमै पटक पटक अश्रु ग्यास प्रहार मात्र गरेन, अस्पतालभित्रै प्रवेश गरेर प्रदर्शनकारीलाई लखेट्ने नाममा उपचारमा निरन्तर अवरोधसमेत गरेको अस्पतालका सुरक्षाकर्मीको आरोप छ ।
अस्पताल प्रशासनले अस्पतालबाहिर जान पटक पटक गरेको आग्रह उल्लङ्घन गर्दै जनपद र सशस्त्र प्रहरीले अस्पतालमा समेत आतङ्क मच्चाएको अस्पताल प्रशासनको दुखेसो छ ।
आन्दोलन र मृत्यु
२००७ सालको प्रजातान्त्रिक आन्दोलन: यकिन तथ्याङ्क छैन
२०३६ सालको विद्यार्थी आन्दोलन: ११ जनाको मृत्यु
२०४७ को जनआन्दोलन: ४५ जनाको मृत्यु
२०६२/६३ सालको जनआन्दोलन: २१ जनाको मृत्यु
माओवादी सशस्त्र विद्रोह (२०५२–२०६२): १८ हजार ७६ को मृत्यु, १ हजार ७ सय ३० बेपत्ता
गौर हत्याकाण्ड (२०६३): २७ जनाको मृत्यु
थरुहट आन्दोलन (७ भदौ २०७२): ८ जनाको मृत्यु
राजतन्त्र पुनः स्थापनाको माग (१५ चैत २०८१): २ जनाको मृत्यु
३ जिल्लामा कर्फ्यु
जिल्ला जिल्लामा भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि विभिन्न जिल्लामा कर्फ्यु लगाइएको छ । कतिपय जिल्लामा भएका आन्दोलन शान्तिपूर्ण भए पनि कास्की, सुनसरी र रुपन्देहीमा भने आन्दोलन हिंसात्मक बनेको छ ।
रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)ले दिएको अधिकार प्रयोग गरी कर्फ्यु आदेश जारी भएको हो ।
आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् । आन्दोलन उग्र बनेपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेकी छन् ।
मुख्यमन्त्री कार्यालयमा आगजनी प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस र पानीका फोहरा प्रहार गरेको छ । प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घुसपैठ गरेपछि आन्दोलन रोकिएको जेनजी प्रदर्शनकारीले जनाएका छन् । पोखराको सभागृह चोकबाट सुरु भएको आन्दोलन मानवअधिकार चोक पुगेर स्थगित गरिएको आन्दोलनका अगुवा आशीष पुरीले बताए ।
जेनजी पुस्ताले कोसी प्रदेशका मुख्य सहरमा आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम यो आदेश जारी गरेका हुन् ।
सोमबार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । पूर्वका इटहरीलगायतका सहरमा आन्दोलन नियन्त्रणभन्दा बाहिर छ ।
विभिन्न स्थानमा झडप भएको छ भने प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको कार्यालय तोडफोड गरेका छन् । प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ भने विराटनगर महानगरपालिकामा पनि प्रदर्शनकारी प्रहरीको ब्यारिगेट ढालेर महानगर परिसर प्रवेश गरेका छन् ।
प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र विराटनगरका नगरप्रमुख नागेश कोइरालाविरुद्ध चर्का नारा लगाएका छन् भने काठमाडौँ महानगरका नगरप्रमुख बालेन साह र धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको पक्षमा नाराबाजी गरेका छन् ।
भरतपुर महानगरपालिका तोडफोड
चितवनको भरतपुर तनावग्रस्त बन्यो । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीका तर्फबाट अश्रुग्याँस प्रहार गरिएको छ । प्रदर्शनकारीहरू महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए । प्रहरीद्वारा दर्जनौँ राउन्ड अश्रुग्याँस प्रहार गरेका छन् ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया