मध्यराति प्रधानमन्त्री ओलीले भने - ‘मृतक परिवारलाई राहत, घाइतेलाई निःशुल्क उपचार गरिनेछ’

मंगलबार, २४ भदौ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जि आन्दोलनका क्रममा भएको घटनामा ज्यान गुमाउने नागरिकका परिवारलाई राहत उपलब्ध गराइने र घाइतेहरुको निःशुल्क उपचार गरिने घोषणा गरेका छन्। सोमबार मध्यरात वक्तव्य जारी गर्दै उनले उत्पन्न परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरे।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनु भएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ।’

उनका अनुसार प्रदर्शनका क्रममा विभिन्न स्वार्थ केन्द्रले गरेको घुसपैठका कारण अप्रिय स्थिति बनेको र संवैधानिक निकायका कार्यालयमा तोडफोड तथा आगजनीजस्ता घटना भएको थियो। उनले जेन–जि पुस्ताले शान्तिपूर्ण रुपमा माग राख्ने अपेक्षा भए पनि बाह्य हस्तक्षेपका कारण परिस्थिती नियन्त्रणबाहिर गएको बताए।

सो क्रममा सरकार नागरिकको ज्यान बचाउनतर्फ लागिरहेको भए पनि दुर्भाग्यवश ज्यान जाने अवस्था बनेको उनले उल्लेख गरे। ओलीले भनेका छन्, प्रदर्शनका आयोजक स्वयंले पनि घुसपैठ भएको स्वीकार गरेका थिए र घर फर्किन आह्वान गरिसकेपछि बाह्य तत्वहरुले हिंसात्मक गतिविधि बढाएका थिए।

प्रधानमन्त्रीले सामाजिक सञ्जालसम्बन्धी विवादलाई समेत सम्बोधन गर्दै सरकारले कहिल्यै सामाजिक सञ्जाल बन्द गर्ने नीति नलिएको स्पष्ट पारे। अदालतको आदेशअनुसार दर्ता र सूचीकरण नगरेका कम्पनीहरूमाथि प्राविधिक रूपमा निस्क्रियता लगाइएको उनले बताए।

घटनाबारे सत्यतथ्य छानबिन गर्न सरकारले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको समेत उनले जानकारी दिए। ओलीले यस्तो दुखद घटना दोहोरिन नदिन आवश्यक नीतिगत तथा सुरक्षा संरचनागत सुधार अघि बढाइने आश्वासन दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार