प्रधानमन्त्री ओली उपचार बहानामा दुबई भाग्ने तयारीमा

मंगलबार, २४ भदौ २०८२

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक दबाबमा परेका छन्। आफ्ना सहकर्मी मन्त्रीहरुले साथ छोड्न थालेपछि उनले आफ्नो दलका मन्त्रीहरुलाई भने राजीनामा नदिन निर्देशन दिएका छन्। ओलीले सोमबारको प्रदर्शन हिंसात्मक हुनुमा बाहिरी घुसपैठ भएको अडान दोहोर्‍याउँदै, त्यसमा संलग्नहरुलाई छानबिन गरी कारवाही गर्ने आश्वासन आफ्ना मन्त्रीहरुलाई दिएको स्रोतले जनाएको छ।

तर, आन्दोलन निरन्तर चर्किएर नियन्त्रणबाहिर जाने आशंकाबीच प्रधानमन्त्री ओलीले सुरक्षित विकल्पको खोजी सुरु गरेको स्रोतले दाबी गरेको छ। प्रदर्शनकारीहरुले संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको घरमा आगजनी तथा तोडफोड गरेका छन् भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासतर्फ पनि भिड बढ्दै गएको छ। यस घटनापछि ओलीले आफू पनि असुरक्षित भएको महसुस गरेको बताइएको छ।

स्रोतका अनुसार, परिस्थिती थप बिग्रिएमा ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्समार्फत दुबई प्रस्थान गर्ने तयारीमा छन्। सोमबार साँझ सरकारले प्रदर्शन हिंसात्मक हुनुको कारणबारे छानबिन गर्न १५ दिन समयसहित उच्चस्तरीय समिति गठन गरेको थियो। तर मंगलबार कर्फ्यू लगाउँदासमेत प्रदर्शन जारी रहँदा समितिले प्रभावकारी छानबिन गर्न नसक्ने र रिपोर्ट आउनु अगावै नेताहरुको सुरक्षा संकटमा पर्न सक्ने स्थिति ओलीले देखेका छन्।

यसैबीच, स्रोतले प्रधानमन्त्री ओली दुबई प्रस्थान गर्ने तयारीबारे आन्तरिक छलफलमा समेत संलग्न भएको दाबी गरेको छ। आन्दोलन उग्र बन्दै गए, उनले स्वास्थ्य उपचारलाई औपचारिक कारण देखाएर सत्ता तथा आन्दोलन दुवै दबाबबाट टाढा हुने योजना बुनेको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार