काठमाडौँ । राजधानीमा ‘जेनजी’ आन्दोलन दोस्रो दिन उग्रिँदै जाँदा ठूला व्यावसायिक र व्यापारिक संरचनामा तोडफोड र आगजनी भएको छ । आन्दोलनकारीको निशानामा होटेलदेखि नाम चलेका व्यापारिक घरानासम्म परेपछि राजधानीसहित देशका प्रमुख शहरमा ठूलो क्षति पुगेको छ ।
बुधबार बिहानदेखि नै नक्सालस्थित पाँचतारे होटेल हिल्टन प्रदर्शनकारीको लक्ष्य बन्यो । आठ अर्ब ३५ करोड लगानीमा गत वर्ष मात्रै सञ्चालनमा आएको यो होटलमा तोडफोडपछि आगजनी हुँदा पर्यटकहरू माथिल्लो तलामा अड्किएर उद्धारको गुहार मागिरहेका दृश्य सामाजिक सञ्जालमा भाइरल भए । त्यस्तै, सांसदसमेत रहेका व्यवसायी राजेन्द्र बजगाईंले सञ्चालनमा ल्याएको सवा अर्ब लगानीको होटेल वर्णवास पनि आगोको चपेटामा पर्यो ।
व्यापारिक कम्प्लेक्सहरूमा समेत ठूलो क्षति भएको छ । भाटभटेनीका नक्साल, बौद्ध, भक्तपुरको राधेराधे, चितवनको भरतपुर, पोखरा, विराटनगर, बिर्तामोड र जनकपुरस्थित भवनहरूमा तोडफोड, लुटपाट र आगजनी भएको प्रहरी स्रोतले जनाएको छ । चौधरी समूहको सतुङ्गलस्थित सिजी इलेक्ट्रोनिक्स भवन आगलागीबाट पूर्णरूपमा नष्ट भएको छ भने सिजी कर्पको थापाथलीस्थित कार सोरुम समेत ध्वस्त भएको छ । सोरुमभित्र रहेका नयाँ आयातित गाडीहरू समेत जलेर खरानी बनेका छन् ।
त्यस्तै, चन्द्रागिरि केबुलकारको बेस स्टेशन, तीनकुनेस्थित सिम्रिक एयरको भवन, लैचनौरस्थित एनसेलको कार्यालय र थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कम्प्लेक्स पनि आक्रोशित प्रदर्शनकारीको आगजनीबाट क्षतिग्रस्त भएका छन् । कान्तिपुर कम्प्लेक्समा अन्य आधा दर्जन व्यावसायिक कार्यालय पनि सञ्चालनमा रहेका थिए ।
यसबीचमा राजधानीमा मात्र नभई देशका विभिन्न भागमा भएको तोडफोड र आगजनीले व्यावसायिक क्षेत्र ठप्प भएको छ । क्षतिको आधिकारिक विवरण अझै सार्वजनिक नभए पनि प्रभावित संरचना र लगानीका आधारमा २० अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया