प्रधानसेनापति र जेनजीबीच मध्यरातमा छलफल

बुधबार, २५ भदौ २०८२

काठमाडौँ-  जेनजीका प्रतिनिधिहरूले मङ्गलवार राति नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग आफ्ना मागबारे छलफल गरेका छन्। छलफलमा रक्षा बम, समय खड्का, पुरुषोत्तम यादव, तनुजा पाण्डे, अमीत खरेल, धीरज जोशी, योञ्जन राज भण्डारी, शिव यादव, वर्षा बुढाथोकीलगायत जेनजीका प्रतिनिधि सहभागी भएको स्रोतले जानकारी दिएको छ।

प्रधानसेनापति सिग्देलले विषम परिस्थितिका कारण आन्दोलनरत पक्ष र राष्ट्रपतिबीच सहजीकरण गर्नुपरेको जेनजीका प्रतिनिधिहरूसँग बताएका थिए।

जेनजीका प्रतिनिधिहरू र राष्ट्रपति रामचन्द्र पौडेलबिच मध्यस्थता गर्न आफूले भूमिका खेल्ने प्रधानसेनापति सिग्देलले बताएका थिए।

वार्तामा खास गरी संसद् विघटन र नयाँ सरकार गठनबारे छलफल हुने बुझिएको छ।

वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम  बिहान ८ बजेभित्र पठाउन आग्रह गरेको छ।

सुमना श्रेष्ठ, कुलमान घिसिङसँग पनि यसबारे छलफल भएको जेनजीका प्रतिनिधिले जानकारी दिएका छन्।  सुमनाले भने पार्टीमा रहेकाले वार्तामा बस्न अस्वीकार गरेकी छन्।

नेपाली सेनाले सार्वजनिक सम्पत्तिमाथिको तोडफोड र लुटपाट रोक्न भन्दै १० बजे रातिदेखि सेना परिचालन गर्ने घोषणा गरेको थियो। त्यसपछि सडकमा सेना उत्रिएको छ र सर्वसाधारणलाई बाहिर ननिस्कन भनिरहेको छ।

विषम परिस्थितिको फाइदा उठाई केही समूहले सार्वजनिक सम्पत्तिमा क्षति तथा लुटपाट गरिरहेकाले त्यसलाई रोक्न सडकमा आउने घोषणा सेनाले गरेको हो।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार