काठमाडौँ । छोराछोरी, परिवार र आफन्तहरूले मलाई एक शब्द पनि नबोल्न भने। भन्छन् “ बोल्यौ भने भेटे भने हत्या गर्छन्।”
म जीवनमा कहिल्यै मृत्युको भयबाट डराइन। हिजो दिनभरि र रातभरि शरणार्थी जीवन बिताए। तर मौन बस्न सकिनँ ।
हाम्रो घर मात्र जलाइएको भए नलेखौँ भन्ने मै थिए । तर संसद् भवन जल्यो, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, अल्ह्तियारको भवन , प्रहरी प्रशासनका भवनहरू, निजी होटेलहरू जले, भाटभटेनी, बैङ्कहरू लुटिए। पशुपतिनाथको मन्दिर नै जलाउने प्रयत्न भयो।
तर त्योभन्दा भयावह त के भयो भने रवि लामिछाने सहित हजारौँ गम्भीर अपराधमा संलग्न कैदीहरू जेल जीवनबाट मुक्त गरिए ।
७७ वर्षका मेरा निर्दोष बुबा, ओपन हर्ट सर्जरी गराएकी ७२ वर्षकी आमा, राजनीति चासो नै नराख्ने मेरी श्रीमतीलाई आफ्नै घरमा आगो लगाउँदै त्यही भुङ्ग्रोमा जिउँदै जलाउने प्रयास गरियो। म कठोर समयको सजाय भोग्दैछु । देशलाई जीवन समर्पण गरेको अपराधका लागि। भक्तपुरको विकासका लागि अकल्पनीय योगदान गरेको अपराधका लागि , दिनरात घरघर पुगेको, जनताको सुखदुख आफ्नै मानेर समाधान गर्न खोजेको मान्छे म आज घरबारविहीन बनेको छु।
भूकम्पको बेला २८०० घरबारविहीनलाई राहत र पुनर्स्थापनाको अभियान चलाउँदा अस्थायी घर बनाएर वितरण गर्दा उनीहरूको भक्कानिएको पीडा सुन्दै आँसु पुछेको थिएँ। आज आफ्नै आँसु देखाउन सक्दिन। जिम्मेवारी रुन पनि अनुमति दिँदैन।
नाकाबन्दीको पीडामा कोभिडको लकडाउनमा हजारौँ भोकाहरूलाई भोकाहरूलाई खाना खुवाएर उनीहरूको घर सम्मको जाने व्यवस्था गरेर उनीहरूको पीडामा मलम लगाएको थिए। तर म आज आफू पीडामा छु भन्न पनि नमिल्ने ठाउँमा छु । परिस्थितिको यो कस्तो बाध्यता हो ?
हामी धेर थोर पुर्खौली सम्पत्तिका कारण सुकुम्वासी त भएका छैनौ, तर आज घरबारविहीन भएका छौँ। आमाबुबाले खुवाउने औषधि र एक जोर फेर्ने कपडा पनि झिक्न नदिई। घरभित्रका सम्पूर्ण सामग्री जलाएर ध्वस्त पारिएको छ।
मैले सांसद या मन्त्रीको कुनै जिम्मेवारी पाउनुभन्दा अगाडि १४ वर्ष पहिले बुवाले जागिरे हुँदा कमाएका सम्पूर्ण पसिनाको पैसाले बनेको त्यो घर आज धुलोमा परिणत भयो।उपत्यकाका मान्छेहरू हामी कोठा भाडामा खासै बस्दैनौँ। तर अब लामो समय हामी घरबारविहीन भएर भाडामा बस्दैछौँ।
अब जमिन नबेची नयाँ घर बनाउन सम्भव छैन।राजनैतिक यात्रा , छोरीको विवाह, अन्य घर व्यवहारमा भएको खर्च जोड्दा मैले २ करोड ५० लाख रुपैयाँ ऋण (बाणिज्य बैङ्क बानेश्वर शाखाबाट १ करोड, शंखधर सहकारी ठिमीबाट ६५ लाख, साना किसान सहकारी गुण्डुबाट ८५ लाख) बोकेको छु।तर यो सहयोगको याचना होइन।
भ्रष्टाचार , अपराध , राष्ट्रघात नगरी, केवल जनताको पक्षमा बोलेको सजाय स्वरूप मेरो घर जलाइएको र घरबार विहीन बनाइएको पिडा हो।
म निरह्य भएको प्रहरी प्रशासनप्रति र मनमा असङ्ख्य माया भएर पनि सम्झाउन र फर्काउन नसकेको मेरो टोल छिमेकप्रति मेरो माया र सद्भाव अटल छ। म विचलित छैन।
राजनीति रहने कि नरहने त्यो अर्को पाटो हो। तर म सधैँ जनताको सेवा गर्न जन्मेको मान्छे हुँ। आज घरबार गुमाए पनि, दुःख पीडा छिपाएर पनि तपाईँहरूको सेवामा उभिनेछु। जसरी चुनाव जित्दा वा हार्दा पनि म तपाईँहरूको सेवामा थिएँ, आज पनि त्यही प्रतिबद्धता दोहोर्याउँछु।
यो आन्दोलनमा मृत्यु भएका र घाइते भएका परिवारलाई त्यो अवसर प्राप्त भयो भने सकेसम्म सहयोग गर्ने प्रतिज्ञा गर्दछु।
मैले पहिले पनि भनेको थिएँ गलत मानिसहरूले घुसपैठ गरे भने Gen Z को नाममा हिंसा हुन्छ। त्यो आज प्रमाणित भयो। धेरै अपराधी जेलबाट बाहिर आएका छन्। सेना सडकमा आउन बाध्य भएको छ।
अझै पनि अपराधीहरू लुटपाट गरिरहेका छन्।देशलाई माओवादी युद्ध, मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, कोभिडले थिलथिलो पारे पनि हामी फेरि आर्थिक सुधार र विकासतर्फ अघि बढ्दै थियौँ।
तर आजको यो घटनाले फेरि देशलाई १०–१२ वर्ष पछाडि धकेलेको छ।अब जिम्मेवारी तपाईँ आन्दोलनकारीहरूको हातमा छ।देशलाई बर्बादीतिर लैजानुहोस् वा बचाउनुहोस्। निर्णय तपाईँको हो।
हामीमाथि शङ्का छ भने अनुसन्धान गर्नुहोस्। दोषी ठहरिए सजाय भोग्ने छौ । तर निर्दोष ठहरिए भने हाम्रो घर जलेर, जीवनभरको कमाइ खरानी भएर, परिवार असहाय भएर भोगेको यो पीडाको उपचार कसरी हुन्छ?
मेरो घरको लकर फेला परेको भनेर हल्ला फैलाइयो। म आग्रह गर्दछु आन्दोलनका कमान्डरहरूले पत्रकारहरूको सामु त्यो लकर खोलुन्। यदि त्यहाँ एक हजार रुपैयाँ भेटिन्छ भने मलाई दोषी ठहराउनुस्।
आज हाम्रो परिवारसँग एक जोर कपडा र हजार रुपैयाँ रकम पनि साथमा छैन।तर मेरो विश्वास अझै बाँकी छ।
विभेद रहित भ्रष्टाचारमुक्त समाज, राज्य पुनः संरचना गर्ने, नयाँ नेतृत्व ल्याउने जनताको पवित्र उद्देश्यलाई अपराधी र अन्तर्राष्ट्रिय स्वार्थी समूहले कब्जा गर्न नदिऊ।देशका लागि मेरो हार्दिक शुभकामना।
मेरो घर खरानी भयो, तर जनताप्रतिको मेरो माया कहिल्यै खरानी हुने छैन। देशको विकास र जनताको सेवामा सधैँ खरानी भएर खट्न तयार छु।
प्रतिक्रिया