विराटनगरमा जेनजी आन्दोलन : सरकारी भवनदेखि निजी सम्पत्ति खरानी

बुधबार, २५ भदौ २०८२

विराटनगर । जेनजी पुस्ताका नाममा सुरु भएको आन्दोलन विराटनगरमा उग्र रूप लिँदा सरकारी भवनदेखि निजी सम्पत्तिसम्म खरानीमा परिणत भएका छन्। मंगलबार दिउँसोदेखि सुरु भएको आन्दोलन बेलुकीतिर नियन्त्रणबाहिर पुग्दा प्रदेश राजधानी विराटनगर धुवाँमय बनेको हो।

आन्दोलनकारीले पहिलो निशाना कोशी प्रदेशसभा भवनलाई बनाए। त्यसपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि आन्तरिक मामिला तथा कानुन, स्वास्थ्य, सामाजिक विकास, उद्योग, कृषि तथा सहकारी, पर्यटन, वन तथा वातावरणलगायतका मन्त्रालयमा आगजनी भयो। मन्त्रालयका सवारीसाधन, फर्निचर, कम्प्युटर, अभिलेखलगायत सबै सामग्री जलेर नष्ट भए।

उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङसमेत आन्दोलनकारीको आक्रमणमा परे। मुद्दासम्बन्धी कागजात नष्ट भएपछि अदालत अझै पनि जलिरहेको प्रहरी स्रोतले जनाएको छ। त्यस्तै, जिल्ला प्रशासन, मालपोत, वन, कर्मचारी सञ्चय कोष, कोष तथा लेखा नियन्त्रण, आन्तरिक राजस्व, परीक्षा नियन्त्रण, हुलाक, विराटनगर महानगरपालिका, प्रदेश प्रमुखको कार्यालय र निवासलगायत सरकारी संरचना जलेर ध्वस्त बने।

आन्दोलनकारीको आक्रोश राजनीतिक नेतामाथि पनि देखियो। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको ऐतिहासिक निवासमा आगजनी हुँदा पुरानो संरचना ध्वस्त भयो। नेकपा एमाले मोरङको पार्टी कार्यालय, माओवादी केन्द्रका नेता शिवकुमार मण्डल र जीवन आचार्यको घरसमेत आगोमा परे। विराटनगर महानगरपालिकाका केही वडाध्यक्षका घरहरू पनि तोडफोड र आगजनीको लक्ष्य बने।

सहरको प्रमुख व्यापारिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केटमा समेत आगजनी र लुटपाट भयो। आन्दोलनकारीले चोकचोकमा टायर बाल्दै सडक अवरुद्ध गरेपछि जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बन्यो। आन्दोलनको क्रममा सरकारी भवन नजिकका घरहरूमा समेत क्षति पुगेको छ।

सुरक्षाकर्मी दिउँसो २ बजेसम्म मात्र सडकमा देखिएका थिए। त्यसपछि ‘ब्याक’ भएपछि आन्दोलनकारीले नियन्त्रणविहीन रूपमा तोडफोड, आगजनी र लुटपाट मच्चाएका थिए। सरकारी कार्यालयका कम्प्युटरदेखि ल्यापटपसम्म लुटपाट भएको र चोरीमा संलग्न समूहलाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा परिचालन जारी राखेको छ।

उग्र आन्दोलनका कारण विराटनगर अहिले त्रासमा छ। शहरभर अझै पनि धुवाँको मुस्लो उडिरहेको र धेरै सरकारी कार्यालयमा आगो दन्किइरहेको छ। क्षतिको पूर्ण विवरण संकलन भने अहिलेसम्म हुन सकेको छैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार