काठमाडौं । शान्ति सुरक्षा कायम गर्न मंगलबार राति १० बजेदेखि परिचालन भएको नेपाली सेनाले विभिन्न स्थानबाट लुटपाट गरिएको नगद, हातहतियारसहित सामग्री बरामद गरेको छ ।
नेपाली सेनाले बुधबार विज्ञप्ति जारी गरी विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको जनाएको छ ।
त्यसक्रममा काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार बरामद गरिएको सेनाले जनाएको छ ।
त्यस्तै, काठमाडौँका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सेनाले जनाएको छ । सेनाले २३ जना घाइतेको नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिको सैनिक अस्पतालहरुमा उपचार गरिएको जनाएको छ ।
प्रतिक्रिया