विराटनगरको बाल सुधारगृहबाट २ सय भन्दा बढी बाल बिज्याइँकर्ताहरु फरार

बुधबार, २५ भदौ २०८२

विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान एकैपटक दुई सयभन्दा बढी बाल बिज्याइँकर्ताहरु फरार भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुधारगृहमा २ सय ५५ जना बाल बिज्याइँकर्ताहरु रहेका थिए । तीमध्ये करिब ५० जना मात्रै भित्रै बसेका छन् भने बाँकी करिब २ सय जना फरार भएका छन् । प्रहरीका एक अधिकृतका भनाइअनुसार बालबालकहरु सुधारगृहको मुख्य गेटको ताल्चा तोडेर बाहिर भागेका हुन् । भाग्ने क्रममा खटिएका सुरक्षाकर्मीलाई उनीहरूले लछारपछार गरेको पनि प्रहरीको भनाइ छ ।

सुधारगृहमा २० जनाभन्दा बढी सुरक्षाकर्मी खटाइएका थिए । तर, बिहानै अचानक बनेको परिस्थितिमा उनीहरूले नियन्त्रण गुमाएका छन् । सुरक्षाकर्मीले पछ्याउँदै जाँदा भागेकामध्ये करिब ६० जनालाई पक्राउ गरी फेरि सुधारगृहमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

फरार बालकलाई नियन्त्रणमा लिन नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ । स्थानीय बासिन्दाले पनि केही फरार बाल बिज्याइँकर्तालाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई बुझाइरहेका छन् । प्रहरीले बाँकी फरार बालबालकलाई नियन्त्रणमा लिनका लागि खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार