काठमाडौं । देशमा अचानक फैलिएको आतंक र त्रासदीपूर्ण परिस्थितिमा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सबैलाई संयमता अपनाउन र सजग रहन आग्रह गरेका छन्। मंगलबार जारी विज्ञप्तिमार्फत उनले देशवासीले अत्यन्त ठूलो कष्ट र पीडा व्यहोर्नु परेको उल्लेख गर्दै धैर्य र उच्च मनोबलका साथ कठिनाइ पार गर्नुपर्नेमा जोड दिएका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, “यो अत्यन्त दुःखद घडीमा संयम र धैर्यताका साथ उच्च मनोबलसहित सतर्क र सजग रहन सबै राजनीतिक दलका साथिहरु, नागरिक समाज एवम् देशभरका तमाम दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु।”
सिटौलाले शान्ति–सुव्यवस्था कायम राख्दै नेपाली जनताको जीउधनको सुरक्षा गर्न सम्बद्ध सबै पक्षलाई पनि हार्दिक अनुरोध गरेका छन्। उनका अनुसार, आतंकित परिस्थितिलाई नियन्त्रणमा लिन र मुलुकलाई सामान्यतर्फ फर्काउन सबै दल, नागरिक समाज र राज्य संयन्त्रले आफ्नो जिम्मेवारी इमान्दारीका साथ पूरा गर्न आवश्यक छ।
देशभर बढ्दो त्रासका कारण आमनागरिकको दैनिकी प्रभावित भएको भन्दै सिटौलाले शान्तिपूर्ण उपायमार्फत मात्रै समाधान सम्भव हुने औंल्याएका छन्। उनले राष्ट्रिय एकता, धैर्य र आत्मबलका साथ मुलुकलाई संकटबाट पार लगाउन सबैलाई मिलेर अघि बढ्न आह्वान गरेका छन्।
प्रतिक्रिया