सेनाले पहिले शान्ति सुरक्षा गरेर मात्रै सरकार गठनमा चासो देखाओस् : रास्वपा

बुधबार, २५ भदौ २०८२
तस्बिर : फाइल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरू सरकार गठनमा भन्दा पनि शान्ति सुरक्षाको विषयमा चिन्तित रहेको बताएको छ । बुधबार सचिवालयको बैठकपछि रास्वपाले यस्तो बताएको हो ।

बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले आगामी सरकार गठनका सम्बन्धमा छलफल गर्न रास्वपालाई बोलाए पनि रास्वपाले सरकार गठनमा कुनै चासो नरहेको जवाफ दिएको एक पदाधिकारीले बताए ।

 ती पदाधिकारीले भने, ‘हामीले प्रधान सेनापतिसँग पनि कुरा गरेका छौँ । सरकार गठनका विषयमा छलफलमा आउन भन्नुभएको थियो, हामीले सरकार गठन आफूहरूको पहिलो प्राथमिकता नरहेको भन्दै जवाफ दिएका छौँ ।’

ती पदाधिकारीका अनुसार रास्वपाको अहिलेको प्राथमिकता भनेको शान्ति सुरक्षा कायम राख्नु नै भएको निष्कर्ष निकाल्दै त्यसका लागि नेपाली सेना, नेपाली प्रहरी लगायत प्रशासनलाई पूर्णरुपमा सहयोग गर्ने रहेको छ । साथै शान्ति सुरक्षा कायम राख्नका लागि आन्दोलन वा प्रदर्शन नगर्न आम जनतालाई आग्रह गर्ने निर्णय भएको उनले बताए ।

सरकार गठनका सम्बन्धमा कुरा नै भएन त भन्ने लोकपथको प्रश्नमा पनि ती पदाधिकारीले भने, ‘पहिले शान्ति सुरक्षा र सुव्यवस्था चाहियो, त्यसपछि पो बाँकी करा हुन्छ त ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार