अन्तरिम सरकारको प्रधानमन्त्री बन्न सफल सुशीला कार्की को हुन ?

शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ : नेपालकी पहिलो महिला प्रधानन्यायाधीशको हैसियतमा इतिहास रचिसकेकी सुशीला कार्की अहिले फेरि राष्ट्रिय राजनीति र सत्ता–सन्तुलनको केन्द्रमा आइपुगेकी छिन् ।

कानुनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वताका कारण उनलाई प्रधानमन्त्रीका लागि अघि सारिएको चर्चाले देशको ध्यान आकृष्ट गरेको छ ।

२००९ जेठ २५ मा मोरङको विराटनगर–शंखपुरमा जन्मिएकी कार्की सात सन्तानमध्ये जेठी हुन् ।

बीपी कोइरालाको परिवारसँग नजिकको सम्बन्ध राख्ने उनको परिवार प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएको छ ।

उनका पति दुर्गा सुबेदी प्रजातान्त्रिक सेनानीका रूपमा परिचित छन् ।

कार्कीले महेन्द्र मोरङ क्याम्पसबाट बीए र भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेकी हुन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक हासिल गरी शैक्षिक यात्रा अघि बढाइन् ।

२०४२ देखि २०४६ सम्म धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गरेकी उनले २०३५ सालदेखि वकालत सुरु गरेकी थिइन् ।

वरिष्ठ अधिवक्ता हुँदै २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनेकी कार्की २०६७ मा स्थायी न्यायाधीश नियुक्त भइन् ।

२०७३ सालमा देशकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनले न्यायपालिकामा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको नीति अपनाइन् ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको ऐतिहासिक फैसलादेखि मन्त्रीसन्त्री जयप्रकाश गुप्तालाई दोषी ठहर गर्नेसम्म, उनका निर्णयहरूले सधैँ बहस र चर्चा बटुल्यो ।

उनलाई राजनीतिक शक्तिहरूले असहज बनाउन खोज्दा पनि उनले निडरतापूर्वक आफ्नो भूमिकामा अडान लिएर चर्चा कमाइन् ।

२०७४ वैशाखमा तत्कालीन सत्ता गठबन्धनले संसदमा महाभियोग प्रस्ताव दर्ता गरे पनि सर्वोच्चको अन्तरिम आदेशले त्यसलाई निष्प्रभावी बनायो । महाभियोग असफल भएपछि उनी पुनः आफ्नो पदमा फर्किइन् ।

कार्कीको निष्पक्षता, दृढता र कानुनी परिपक्वताले आज फेरि उनलाई राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा ल्याएको छ ।

युवाहरूको रोजाइमा परेकी उनी ‘सिद्धान्तमा अडिग’ नेताको रूपमा प्रस्तुत हुँदैछिन् । जङ्गी अड्डादेखि सिंहदरबारसम्म उनको नाम घन्किन थालेपछि मुलुक फेरि इतिहास निर्माणको मुखमा उभिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार