इटहरी : जेन–जी आन्दोलनका क्रममा गएको मङ्गलवार भएको भीषण आगजनीले इलाका प्रहरी कार्यालय, इटहरी पूर्ण रूपमा ध्वस्त भएको छ । २०३२ सालमा प्रहरी चौकीका लागि बनेको भवनले पाँच दशकदेखि निरन्तर सेवा दिँदै आएको थियो ।
२०६२–६३ को आन्दोलनका साथै यहाँ भएका हरेक आन्दोलनहरुमा सुरक्षाका लागि तल्लिन रहेकार सफल बनेको इलाका स्वयं असुरक्षित बनेको छ र दैनिक सेवा प्रवाह ठप्प हुने अवस्थामा पुगेको छ । कार्यालयमा रहेका अधिकांश सामग्री र उपकरण जलेर नष्ट भएपछि हाल इटहरी प्रहरीले तरहरा प्रहरी चौकीमार्फत सेवा दिन थालेको छ ।
इलाका प्रहरी कार्यालय इटहरी आगजनी गर्ने क्रममा प्रहरीले प्रयोग गर्दै आएको सवारीहरू समेत ध्वस्त पारिएका छन् । जसका कारण सिङ्गो १६ ओटा वडालाई तरहरा प्रहरीमा रहेको एउटा सवारी साधनबाट सेवा दिँदा निकै चुनौती उत्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार कार्यालय जलेपछि सीमित जनशक्तिबाटै तरहराबाट शान्ति–सुरक्षा कायम गर्ने प्रयास भइरहेको छ । उनले भने,“प्रहरी कार्यालय जलेका कारण उपकरण र स्रोतमा ठुलो क्षति भएको छ, तर नागरिकलाई आवश्यक सेवा दिन तयारी गरिरहेका छौ।”
हाल सीमित जनशक्ति खटाइए पनि इटहरी क्षेत्रको सुरक्षामा कुनै सम्झौता नगरिएको डीएसपी भण्डारीले बताए । उनका अनुसार, शान्ति–सुरक्षा कायम राख्दै नागरिकलाई दैनिक प्रहरी सेवाबाट वञ्चित हुन नदिने गरी काम भइरहेको छ ।
साँघुरो भवन, ठुलो जिम्मेवारी
प्रहरी चौकीबाटै सुरु भएको भवनमा अहिले इलाका हुँदा पनि सोही भवन थियो । प्रहरी कार्यालयहरूलाई अत्याधुनिक भवन बनिरहेका बेला बढ्दो जनसंख्यायाको चाप खेपिरहेको इटहरी इलाकाले भने भवन पाउन सकिरहेको थिएन ।
इटहरी, पूर्वाञ्चलको प्रमुख केन्द्रका रूपमा द्रुतगतिमा विकसित हुँदै गएको छ। व्यापार, शिक्षा, उद्योग र यातायातको केन्द्रबिन्दु बनेको इटहरीमा हरेक वर्ष जनसङ्ख्या तीव्र रूपमा बढिरहेको छ। हाल झन्डै डेढ लाखभन्दा बढी जनसङ्ख्याको बसोबास भएको यो शहरमा शान्ति–सुरक्षाको जिम्मेवारी इलाका प्रहरी कार्यालय इटहरीले सम्हाल्दै आएको छ।
बढ्दो जनसङ्ख्या र सहरीकरणसँगै सवारी दुर्घटना, चोरी, ठगी, लागुऔषध दुर्व्यसन र आपराधिक घटनाहरू पनि चुनौतीका रूपमा उभिएका छन्। यस्ता चुनौतीलाई मध्यनजर गर्दै प्रहरी टोलीले सवारी चेकजाँच, रात्रि गस्ती, सचेतना कार्यक्रम र सामुदायिक साझेदारीलाई प्राथमिकतामा राखेको छ।
स्थानीयवासीको अनुसार, इटहरीको तीव्र जनघनत्व र व्यस्तता नियन्त्रण गर्न थप जनशक्ति र प्रविधिमैत्री सुरक्षा संयन्त्र अपरिहार्य भइसकेको छ। प्रहरी अधिकारीहरूले पनि इटहरीलाई सुरक्षित र व्यवस्थित शहर बनाउन सामुदायिक सहयोग अनिवार्य रहेको बताएका छन्।
साँघुरो परिसर, जीर्ण संरचना र ब्यारेकको अभावबिच पनि प्रहरीहरूले “जसरी भए पनि सेवा दिने” सङ्कल्प बोकेका थिए । तर आगलागीपछि कार्यालय नै प्रयोगयोग्य नभएपछि प्रहरी प्रशासन विकल्पहीन बनेको अवस्थामा रहेको छ ।
सेवाभन्दा बढी सङ्कट
कार्यालयमा रहेको हिरासत कक्षदेखि महिला–बालबालिका डेस्क, मुद्दा शाखा र लेखा सबै एकैसाथ सञ्चालन हुँदै आएका थिए । सिडिआरदेखि साइबर सुरक्षाका सम्बन्धमा पनि कार्यालयले नागरिकलाई सहजीकरण गरिरहेको थियो । तर आन्दोलनमा अराजक समूहमा परेपछि अब कसरी सेवा सञ्चालन गर्ने भन्ने कुरा चुनौतीको विषय बनेको छ ।
अहिले अपराध भइहाल्यो भने पनि प्रहरी सेवामा खटिनका लागि उपकरणहरूको पनि आन्दोलनकारीहरूले जलाइदिएका छन् । कहाँबाट देला सेवा साँघुरो भवन र ठुलै जिम्मेवारी खेपिरहेको इलाका इटहरी त्यही भवन पनि खरानीमा परिणत हुँदा कहाँबाट सेवा देला भन्ने अर्को प्रश्न खडा भएको छ ।
प्रहरी कर्मचारीहरू त्यस भवनबाट कार्य गर्न सक्ने अवस्था नरहेको बताइरहेका छन् । यसअघि कृषि अनुसन्धान परिषद्को जग्गामा इलाका प्रहरी बनाउन प्रक्रिया अगाडि बढे पनि ठोस परिणाम आएको थिएन । त्यसको परिणाम आज देखिएको छ,अत्यन्तै संवेदनशील क्षेत्रको प्रहरी कार्यालय आफैँ असुरक्षित भई ध्वस्त भएको अवस्था छ ।
यस्ता छन् विकल्प ?
आफ्नो सहरको सुरक्षाका लागि इटहरीका नागरिक समाज तथा सरोकारवालाहरूले इलाका प्रहरी कार्यालय लागि अस्थायी रूपमै भए पनि प्रहरी कर्मचारीहरूलाई काम गर्ने वातावरण बनाउनुपर्ने हुन्छ ।
जसमा इटहरी बसपार्कका लागि भनेर बनाइएको अत्याधुनिक भवनबाट सेवा दिनुपर्नेमा कतिपयको जोड छ ।
प्रहरी चौकी तरहरा नजिकै रहेको बन कार्यालयको भवन, यस्तै इटहरीकै ताल तलैया जाने बाटोमा इटहरीका नगर प्रहरी बस्नका लागि बनाइएको भवनलाई समेत प्रयोगमा ल्याउन सकिने छ ।
अस्थायी प्रयोजनका लागि इटहरी अस्पतालको भवन पनि विकल्पमा देखिएको छ । विषम राजनीतिक र सामाजिक परिस्थितिबिच सर्वसाधारणलाई शान्ति–सुरक्षा दिने दायित्व बोकेका प्रहरीहरू अहिले आफैँ असहज अवस्थामा छन्।
बस्नका लागि आफ्नै भवन नभएकै कारण विस्थापितझैँ बस्न बाध्य भएका प्रहरीहरू सीमित स्रोतसाधनमा पनि दिनरात इटहरीवासीको सुरक्षा सुनिश्चित गर्न खटिरहेका छन्।
भवन अभावका कारण कठिन परिस्थितिमा जीवन बिताइरहेका प्रहरीहरूलाई स्थानीय नागरिकले ‘कर्तव्यनिष्ठ प्रहरी’ को रूपमा सम्मान गर्न थालेका छन्।
चुनौतीपूर्ण अवस्थामै पनि अपराध नियन्त्रण, शान्ति व्यवस्था कायम र नागरिक सुरक्षामा कुनै कमी हुन नदिएको इटहरी प्रहरीप्रति इटहरीवासी कृतज्ञ बनेका छन्।
इलाका प्रहरी कार्यालय इटहरीलाई स्थायी संरचना र थप स्रोतसाधन उपलब्ध गराउनुपर्ने माग पनि बढ्दै गएको छ।
सुरक्षा संयन्त्र बलियो बनाउन राज्यको ध्यान आवश्यक भए पनि तत्कालीन अवस्थामा प्रहरीको आत्मत्याग र सेवाभावकै कारण इटहरी सुरक्षित रहन सकेको नागरिकको भनाइ छ।
प्रतिक्रिया