हर्क साम्पाङको महत्वाकाङ्क्षा चकनाचुर, धरान उपमहानगर लथालिंग

सोमबार, ३० भदौ २०८२

धरान : धरान उपमहानगरका मेयर हर्क साम्पाङ प्रधानमन्त्री बन्ने ठूलो महत्वाकाङ्क्षा बोकेर काठमाडौं धाएका थिए। ६ दिनसम्म लगातार स्टाटस र भिडियोमार्फत उनले आफूलाई जेन–जी आन्दोलनतर्फबाट प्रधानमन्त्री बनाउने माग गरे। तर, अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रजातान्त्रिक प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित भइन्। हर्कको सपना त्यत्तिकै चकनाचुर भयो।

प्रधानमन्त्रीको दौडमा असफल भएपछि उनले मन्त्री पदको खोजी गरे तर त्यो पनि हात लागेन। पद र शक्ति दुबै नपाएपछि उनी खाली हात धरान फर्किन बाध्य भए।

तर, हर्कको महत्वाकाङ्क्षी यात्राले धरानलाई भने अझ गम्भीर संकटमा पारेको छ। उपमहानगरको बजेट अहिलेसम्म पारित हुन नसकेकाले कर्मचारीको तलबदेखि विकास निर्माणसम्मका काम ठप्प छन्। मेयर काठमाडौंमा सत्ताको खेलमा व्यस्त रहँदा धरान ‘निर्णयविहीनता’को दलदलमा धकेलिएको हो।

सपना ठूलो देख्नु गलत होइन तर जनताले चुनेको पद र जिम्मेवारी बेवास्ता गर्नु गम्भीर समस्या हो। धरानको समस्या समाधानभन्दा मेयरको पदलालसा हावी भएको देखियो।

यसरी, प्रधानमन्त्री बन्ने महत्वाकाङ्क्षी दौड हर्कका लागि व्यक्तिगत हार मात्रै होइन, धरानवासीका लागि पनि महँगो साबित भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार