काठमाडौँ : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश देखाउँदै मङ्गलवारदेखि पुनः काम थालेका छन्।
सरकारले २ भदौमा ओझालाई ‘अध्यक्ष हुन आवश्यक योग्यता नपुगेको’ भन्दै पदमुक्त गर्ने निर्णय गरेको थियो।
सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेपछि न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले २३ भदौमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
बीमा प्राधिकरणका कर्मचारीहरूका अनुसार अदालतको आदेशपछि ओझाले मङ्गलवारदेखि कार्यालय पुगी काम थालनी गरेका हुन्।
सर्वोच्चले सरकारलाई २ भदौको पदमुक्त निर्णय, सो निर्णयबारे जानकारी दिने पत्र, नयाँ अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान र विज्ञापन प्रकाशन तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको छ।
यसअघि सरकारको निर्णयअनुसार छानबिन समितिले ओझाको योग्यता नपुगेको प्रतिवेदन दिएको थियो। त्यसै आधारमा मन्त्रिपरिषद्ले उनलाई पदमुक्त गरेको थियो। तर,अदालतले अन्तिम निर्णय नआएसम्म स्थगन आदेश जारी गरेपछि ओझा पुनः पदमा फर्किएका हुन्।
यस सम्बन्धमा दुवै पक्षलाई सर्वोच्चले २६ असोजमा छलफलका लागि बोलाएको छ।
प्रतिक्रिया