हिंसात्मक बन्दै आन्दोलन, वार्ताप्रति प्रदेश सरकार उदासीन

शनिबार, ०९ बैशाख २०८०
विराटनगर । प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत् पहिचान पक्षधर संगठनहरुले पछिल्लो समय प्रदेश राजधानी विराटनगर केन्द्रीत आन्दोलन गर्दै आएका छन् । उनीहरुले पटक पटक चेतावनी दिंदै आन्दोलन कार्यक्रम विस्तार गर्दै आएका छन् । चैत ५ गते भएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा घाइते भएका एकजना आन्दोलनकारीको उपचारका क्रममा मृत्यु भयो । सरकारी पक्षले उनको मृत्यु प्रहरीका कारण नभइ आन्दोलनकारीकै लाठी प्रहारले टाउकामा गम्भीर चोट लागेकाले भएको दाबी गर्दै आएको छ । आन्दोलनकारीले भने प्रहरीको प्रहारबाट उनको मृत्यु भएको बताउँदै आएका छन् । मृत्यु भएका पदम लिम्बू लाजेहाङको शव करिब एक महिनासम्म धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै रह्यो । शनिबार आन्दोलनकारीले उनको शवसहित धरान, इटहरी र विराटनगरमा प्रदर्शन गरे । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने र पुनः नामकरण गर्नुपर्ने उनीहरुको माग यथावत् छ । चैत ५ गते जस्तै शनिबार पनि प्रदर्शन हिंसात्मक बन्न पुग्यो । पटक पटक झडप भए । झडपका क्रममा दुवैतर्फ घाइते भए । रड, लाठी, भाला, गुलेलीलगायतका घरेलु हतियारको प्रयोग गरेर प्रदर्शन एवं आक्रमणमा उत्रिएका आन्दोलनकारी हिंसा भड्काउने र अशान्ति मच्चाउनेतर्फ केन्द्रित भएको सुरक्षा बुझाइ छ । आन्दोलनकारीले भने उल्टै प्रहरी, प्रशासनले ‘शान्तिपूर्ण आन्दोलन’ लाई दबाएको भन्दै सरकारी पक्षकै कारण हिंसात्मक अवस्था सिर्जना भएको बताइरहेका छन् । आन्दोलनलाई मत्थर बनाउन र आन्दोलनरत पक्षलाई मनाउन सरकार गम्भीर नभएको टिप्पणी हुन थालेको छ । वार्ता गर्नुपर्ने कुरा विभिन्न पक्षबाट उठिरहेको भए पनि सरकार यसमा उदासीन देखिएको छ । यसबीचमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नामका बारे छलफलै नहुने, आन्दोलनबाट समस्याको समाधान नहुने आशयको अभिव्यक्ति पनि दिए । उनको त्यो अभिव्यक्तिबाट आक्रोसित आन्दोलनकारीले आन्दोलनलाई अझ व्यापक बनाउँदै आएका छन् । शनिबार भएको झडपका कारण विराटनगरको रोडशेष चोक रणमैदान जस्तै बन्न पुग्यो । शनिबारको झडपमा परेर घाइते हुने सुरक्षाकर्मीको संख्या २७ पुगेको छ । आन्दोलनकारीतर्फ घाइतेको संख्या ५ पुगेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घाइते सुरक्षाकर्मीमध्ये २४ जना नेपाल र ३ जना सशस्त्र प्रहरीका छन् । आन्दोलनकारीको ढुंगामुढा र आक्रमणबाट टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेर सुरक्षाकर्मी घाइते भएको उनले बताए । दुवैतर्फका घाइतेको विराटनगरकै आर्या न्यूरो अस्पताल र पारस अस्पतालमा उपचार भइरहेको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट ८२ सेल अश्रुग्यास प्रहार भएको छ । डीएसपी दाहालले नेपाल प्रहरीबाट ८१ र सशस्त्रबाट १ सेल अश्रुग्यास प्रहार भएको जानकारी दिए । पहिचानवादी नेता अर्जुन जम्नेली राईले प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते हुने आन्दोलनकारीको संख्या धेरै रहेको बताए । डीएसपी दाहाल दोहोरो झडप हुनुअघि सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा र पेट्रोल बम प्रहार भएको बताउँछन् । तर, सुरक्षा संयमताका कारण ठूलो क्षति हुन नपाएको र अश्रुग्यास प्रहारपछि भीड तितरवितर भएको उनको भनाइ छ । झडपका क्रममा आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर पेट्रोल बम, बाँस, भाटा, लाट्ठी, गुलेली, फलामका रड र बियरको बोतल प्रहार गरेको उनले बताए । उनका अनुसार झण्डा राखेको लौरोमा काँटी घोपेर ल्याएरसमेत आन्दोलनकारीले सुरक्षाकर्मीलाई आक्रमण गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । पानीको फोहोरा पनि प्रयोग गरियो । स्थिति थप तनावग्रस्त हुने देखिएपछि थप सुरक्षा सतर्कता अपनाइएको थियो । ‘शान्तिपूर्ण आन्दोलन गर्ने भनेर बाहिर प्रचार गरियो । तर, आन्दोलनको अवस्था हेर्दा हिंसा भड्काउने योजनासहित आन्दोलनकारी प्रस्तुत भएको देखिन्छ,’ डीएसपी दाहालले भने, ‘आन्दोलनलाई हिंसात्मक बनाएर माहोल भड्काउन खोजेजस्तो देखिन्छ । अराजकता बढ्दै गएमा सम्भावित क्षति रोक्न सुरक्षाकर्मीले थप बल प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ ।’ शान्तिपूर्ण आन्दोलन गर्ने भनेर शवयात्रा गरिरहेको पक्ष सुरक्षाकर्मीप्रति एक्कासि उत्तेजक, अराजक र आक्रामक बनेको उनले बताए । उनले भने, ‘सुरक्षाकर्मीलाई लक्षित गरेर घरेलु हतियारहरु प्रहार गरिए । पेट्रोल बम हानियो ।’ पहिचानवादीहरु ‘लाजेहाङ’को शव श्रद्धाञ्जलीका लागि भनेर शनिबार दिउँसो प्रदेश राजधानी विराटनगर लिएर आएका थिए । त्यस क्रममा आन्दोलनरत पक्ष निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि रोक्न खोज्दा सुरक्षाकर्मीसँग झडप भयो । रोडशेष चोकबाट लगभग २ सय मिटर दक्षिणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर सुरक्षाकर्मीले आवतजावतमा रोक लगाएका थिए । निषेधित क्षेत्रमा सुरक्षाकर्मीले लगाएको ‘ब्यारिकेट’ तोडफोड गर्दै आन्दोलनकारी अघि बढ्न खोजेपछि अवस्था तनावपूर्ण बनेको हो । ब्यारिकेटको ‘ब्लेड’ले खुट्टा काट्दा केही आन्दोलनकारी घाइते भएको डीएसपी दाहालले बताए । आधा घण्टासम्म चलेको झपडका कारण तनावग्रस्त बनेको विराटनगरको अवस्था त्यसपछि भने सामान्य बनेर गएको उनको भनाइ छ । पहिचान पक्षधर दल र विभिन्न संघ संगठनले प्रदेशको पुनः नामांकनको माग राखेर आइतबार सुनसरीको इटहरी र सोमबार विराटनगरमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । सोमबारपछि निर्णायक आन्दोलन गर्ने घोषणा यसअघि नै गरेर ‘भोलेन्टियर दस्ता’ नै तयार पारिएको छ । आन्दोलनलाई लक्षित गरेर ठाउँठाउँमा लाट्ठी र भाला तयार पारिरहेको खबर आएसँगै आन्दोलन थप हिंसात्मक बनाउनेतर्फ पहिचान पक्षधर केन्द्रित भएको बुझ्न सकिने सुरक्षा अधिकारी बताउँछन् । फागुन १७ गतेको प्रदेशसभाले दुईतिहाइभन्दा बढी बहुमतका आधारमा तत्कालीन प्रदेश १ को नाम कोसी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित भएका हुन् । पहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने र कोसी नाम खारेज गर्नुपर्ने माग आन्दोलनरत पक्षको छ । सरकारले भने ‘लाजेहाङ’लाई शहीद घोषणा गर्ने र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । कोसी प्रदेश सरकारले पनि ३ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार