काठमाडौँ : जेन–जी समूहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गर्न माग गरेको छ ।
शुक्रवार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलन दबाउन राज्य संयन्त्रको दुरुपयोग भएको भन्दै ती नेताहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
जेन–जीका सल्लाहकार डा. निकोलश भुसालले राष्ट्रिय सभा विघटन गरेर संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले २०४६ सालपछिका सम्पूर्ण उच्च तहका नेता र कर्मचारीको सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग समेत गरे ।
आन्दोलनका क्रममा घाइते भएका हरि अधिकारीले समाजमा व्याप्त कुशासनविरुद्ध लड्न बाध्य भएको बताए ।
उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । त्यस्तै, जेन–जी शहीद परिवारकी नर्गिस थापाले शहीदको बलिदानलाई अपमान नहुने गरी सरकारले काम गर्नुपर्ने माग गरिन् ।
कार्यक्रममा जेन–जीका सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा. सुन्दर थापा, वैज्ञानिक कपिल पौडेललगायत वक्ताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली स्थापनामात्र देश विकासको बाटो खुल्ने तर्क गरे । उनीहरूले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउनुपर्ने र रोजगारी सिर्जना गरेर विदेश पलायन रोक्नुपर्नेमा जोड दिए ।
अभियन्ता कुशलव केसीले लामो समयदेखि सहकारी पीडितका माग लिएर सडकमा रहेको स्मरण गर्दै आगामी सरकारले ती मुद्दा सम्बोधन नगरे आन्दोलन तीव्र हुने चेतावनी दिए ।
प्रतिक्रिया