धरान उपमहानगरपालिकाले गर्यो दुई अर्ब २० करोडको बजेट सार्वजनिक

शनिबार, ०४ असोज २०८२

धरान : धरान उप–महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

शनिबार बसेको १७औं नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन्।

उपमहानगरले आगामी वर्षका लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडमार्फत ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

विनियोजन विवरणअनुसार, शहरी योजना तथा भौतिक पूर्वाधारतर्फ सबैभन्दा बढी ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदमा ४६ करोड ८५ लाख, स्वास्थ्यमा करिब ७ करोड, सामाजिक विकासमा ४ करोड ८६ लाख, आर्थिक विकासमा १ करोड २९ लाख, वन–वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ २ करोड ७४ लाख, कानुन तथा न्याय सम्पादनमा २० लाख, सार्वजनिक जग्गा संरक्षणमा १५ लाख, राजस्व परिचालनमा ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख विनियोजन गरिएको छ।

त्यसैगरी, धरानका २० वटा वडाका लागि छुट्टै २१ करोड विनियोजन गरिएको उपमहानगरले जनाएको छ। नगर कार्यपालिकातर्फ निर्शर्त विनियोजन १ अर्ब ३१ करोड ९२ लाख, शर्तसहितको अनुदानबाट ६० करोड ५६ लाख, समपूरक बजेटमार्फत १ करोड ८२ लाख र विशेष अनुदानमार्फत ५ करोड ४३ लाख विनियोजन गरिएको छ।

गत आर्थिक वर्ष २०८१/०८२ मा धरान उपमहानगरले १ अर्ब ९१ करोड २७ लाख १८ हजारको आय आर्जन गरेकोमा असार मसान्तसम्ममा १ अर्ब ५२ करोड ३२ लाख खर्च गरेको तथ्याङ्क उपप्रमुख बेघाले प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार