जनकपुर : चुरे तथा वनजंगल संरक्षण अभियानले जेडयुथ फर नेचर गठन गरेको छ ।
अभियानका संयोजक सुनिल कुमार यादवले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत जेडयुथ फर नेचर नामक नयाँ संगठन गठन गरेको जानकारी दिए ।
उनले यस संगठनमा सम्पूर्ण व्यक्ति सदस्य रहने व्यवस्था गरिएको बताए । संयोजक यादवले यस संगठन अन्तर्गत विभिन्न कार्यक्रमका लागि संयोजक मात्र तोकिने प्रावधान राखिएको जानकारी दिए ।
संगठनले प्रदेशमा अन्तरिम सरकार गठन गरी सानो मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैर–दलीय आधारमा हुनुपर्नेलगायतका राजनीतिक मागहरु राखेको छ ।
त्यस्तै, चुरे–भावर क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने, प्राकृतिक स्रोत–साधनको दोहन तत्काल रोक्न पर्ने, चुरे क्षेत्रका नदीहरूमा चरणबद्ध रुपमा चेक ड्याम निर्माण गर्नुपर्ने र चुरे वनजंगलको संरक्षणका लागि विशेष फोर्स गठन गरी त्यसलाई डिभिजन वन कार्यालय अन्तर्गत राख्नुपर्ने माग संगठनको रहेको संयोजक यादवले बताए ।
संगठनले जेनजी पुस्ताले उठाएका सम्पूर्ण जायज मागहरूलाई समर्थन गरेको जनाइएको छ । संगठनले उठाएका मागहरू सरकारले पूरा नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने संयोजक यादवले चेतावनी दिए ।
प्रतिक्रिया