मुग्लिङ–नारायणगढ सडक ३० घण्टादेखि अवरुद्ध, यात्रु सडकमै अलपत्र

शनिबार, ०४ असोज २०८२

चितवन : चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउन नसक्दा करिब ३० घण्टादेखि यातायात अवरुद्ध भएको छ ।

असोज ३ गते साँझ साढे ६ बजेदेखि खसेको पहिरो अझै निरन्तर खसिरहेका कारण सडक सफा गर्न नसक्दा हजारौँ यात्रु तथा यातायात मजदुरहरु सडकमै अलपत्र परेका छन् । लामो समय यातायात बन्द हुँदा यात्रुहरूलाई खाद्यान्नको समेत समस्या परेको छ ।

यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै स्थानीयले अग्रसर भएर खानपान सहयोग जुटाइरहेका छन् । यस्तै, राइडर्स युनियन नेपाल चितवन जिल्ला कमिटीले बिस्कुट र पानी वितरण गरेको छ । उपाध्यक्ष आलोककुमार श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय टोलीले २० कार्टुन पानी र २ सय पिस बिस्कुट वितरण गरेको युनियनका केन्द्रीय अध्यक्ष माधव पाण्डेले जानकारी दिए । 

सडक डिभिजन भरतपुरका अनुसार राति निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाउने काम स्थगित गरिएको छ । पहिरो पूर्ण रूपमा हट्ने समय अझै अनिश्चित रहेको र सडक कहिले खुल्ने भन्नेबारे अन्यौल रहेको डिभिजनले जनाएको छ ।

(मजदुर नेता भीमज्वाला राईसँगको संवादका आधारमा तयार पारिएको समाचार)

WhatsApp Image 2025-09-20 at 9.51.24 PMbato

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार