मुग्लिङ–नारायणगढ सडक ३९ घण्टादेखि बन्द, यात्रुहरू हिँडेरै सुरक्षित स्थानतर्फ जानथाले (तस्बिरहरू)

आइतबार, ०५ असोज २०८२

काठमाण्डौं । मुग्लिङ–नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो ३९ घण्टासम्म पन्छाउन नसकेपछि यात्रुहरू पैदलै सुरक्षित स्थानतर्फ हिँडेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले रातदिन सडकमै अलपत्र परेका यात्रुहरू अन्ततः घण्टौँ पैदल यात्रा गरेर सुरक्षित स्थानतर्फ लागेका हुन् ।

असोज ३ गते काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द ३९ घण्टादेखि सडकमै अलपत्र परेका थिए । उनी रातमाटेदेखि घण्टौँ हिँडेर असोज ५ गते बिहान साढे ९ बजे मुग्लिङ पुगे । चन्दका अनुसार कतिपय ठाउँमा सडक एकतर्फी सञ्चालन गर्न सकिने भए पनि ट्राफिक प्रहरीले सवारी रोक्दा यात्रु र प्रहरीबीच वादविवाद भएको थियो । "पानी खान पाइएको छैन, खाना खान पाइएको छैन, अलिकति भएपनि अगाडि जान पाए हुन्थ्यो, बजारको आसपास पुग्न पाए हुन्थ्यो भन्ने यात्रुहरूलाई छ, तर ट्राफिक प्रहरीले रुखो व्यवहार गर्दा वादविवाद भएको हो," चन्दले बताए ।

"बल्ल मुग्लिङ आइपुगिएयो, अब त कमसेकम पानी त खान पाइन्छ नी," उनले भने । उनका अनुसार बाटोमा हजारौँ यात्रु अलपत्र छन् । "कतिपय विरामी, बुढापाका, महिला, बालबालिकाहरू छन्, सबैको बेहाल छ । सडकमा कतै सरकार छ भन्ने अनुभूति गर्न पाइएन," चन्दले थपे ।

पहिरो पन्छाउन नसक्दा असोज ३ गते साढे ६ बजेदेखि हालसम्म यातायात आवागमन ठप्प भएको छ । जसका कारण हजारौँ यात्रु र यातायात मजदुर समस्यामा परेका छन् । लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरू खानापानीको अभावमा छटपटिएका छन् । यसैबीच मुग्लिङका स्थानीयले पहल गरेर असोज ४ गते अलपत्र यात्रु र मजदुरका लागि खानाको व्यवस्था गरेका थिए ।

सडक डिभिजन कार्यालय भरतपुरले अझै पनि पहिरो खसिरहेकाले पन्छाउने कार्य जटिल भएको जनाएको छ । यता नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने, सरकारले सबै शक्ति प्रयोग गरेरै भए पनि पहिरो पन्छाउनुपर्ने माग गरेका छन् । उनले करिब ३५ हजार सवारी साधनमा काम गर्ने करिब ८० हजार यातायात मजदुर भरतपुरदेखि नागढुङ्गा सडक खण्डमा फसेको र करिब ५ लाख यात्रु प्रभावित भएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार