जेन–जी आन्दोलन र नयाँ नायकको खोजी

सोमबार, ०६ असोज २०८२

जेन–जी आन्दोलन र यसबाट उत्पन्न परिस्थितिका विषयमा अहिले धेरै कोणबाट विभिन्न किसिमका विचार विश्लेषण सार्वजनिक भइरहेका छन् । भदौ २३ र २४ गते भएको जेन–जी (सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेको पुस्ता)को आन्दोलनले नेपाली राजनीतिको आधार नै हल्लाइदिएको छ ।  नेपालको संविधान मात्र होइन सार्वभौमिकतामा समेत प्रश्न उठ्ने गरी आन्दोलनका क्रममा भएका घटनाले सबैलाई आश्चर्यचकित पारिदिएको छ ।
 
आन्दोलन एउटा पुस्ताले गरेको भनिए पनि यसको नेतृत्व कसले गरेको थियो र परिणाम के प्राप्त हुने हो भन्ने प्रश्न अनुत्तरित नै रहेको छ । संविधानको परिधि बाहिर निस्केर अन्तरिम सरकारको गठन र निर्वाचनको घोषणा भएको छ । प्रतिनिधिसभासमेत विघटन गरिएको परिवेशमा अब के होला त भन्ने अनिश्चय कायमै देखिन्छ । 

जेन–जी आन्दोलन नेपालका असन्तुष्ट नव जवानहरुको आक्रोश थियो र यसले खोजेको परिवर्तन नेपालभित्रकै शक्तिहरूको सामूहिक प्रयास र सहकार्यबाट सम्भव छ भने त आत्तिनुपर्ने कुनै कारण छैन । तर, यसभित्र अन्तर्निहित ग्राण्ड–डिजाइन तथा रहस्य अर्कै छ भने चाहिँ  नेपाल र नेपालीले भोग्नुपर्ने दुर्दशाको शृङ्खला अनन्तकालसम्म जारी रहने देखिन्छ ।

समग्रमा जेन–जी आन्दोलनलाई मुख्य १० वटा आधारमा विमर्श गर्न सकिन्छ । 

१. नेतृत्व बिनाको आन्दोलन :

हुन त नेपालको जेन–जी पुस्ताले यो आन्दोलन गरेको हो । तर, यसको नेतृत्व कसले गरेको थियो त ? पुस्ताको आन्दोलनमा त्यही पुस्ताका कोही कसैलाई यसको नेता मानिएको छैन । न त जेन–जी समूहका कोही कसैलाई अन्तरिम मन्त्रीमण्डलमा सहभागी गराइएको छ । सैनिक मुख्यालयमा सुदन गुरुङ, हर्क साम्पाङ र दुर्गा प्रसाईँसम्मको दौडधुप तथा जेन–जीका युवाहरूबिच आपसी झैझगडाले आन्दोलनका विषयमा थप अन्यौलता सृजना गरेको छ । कुनै पनि आन्दोलनको एउटा लिडर हुन्छ । तर, नेपालको जेन–जी आन्दोलन नेतृत्व बिनै अलपत्र अवस्थामा रहेको देखिन्छ । नेता बिनाको क्रान्ति भएकाले अपनत्व कसले लिने र आन्दोलनका जायज माग के हुन वा थिए भन्ने अन्योल कायम देखिन्छ । यसले जेन–जी पुस्तामाथि विभिन्न स्वार्थ समूहले खेलबाड गर्ने एवं आआफ्नो रोटी सेकाउने सम्भावनालाई नकार्न सकिँदैन ।

२. बृहत्तर जनाको सहादत, सयौँ घाइते

नेपालमा राणा शासन तथा पञ्चायतविरुद्धको आन्दोलन मात्र होइन गणतन्त्र स्थापनाको जनआन्दोलनमा समेत यति धेरै मानवीय र भौतिक क्षति भएको थिएन । दुई दिनमै यति धेरै मानवीय र भौतिक क्षति बेहोरेको जेन–जी आन्दोलन विश्व इतिहासमै अनौठो घटनाका रूपमा रहेको छ । बृहत्तर जनाको सहादत र सयौँ घाइते भएको यो आन्दोलनले बलिदानी को मूल्यलाई कसरी व्यवस्थापन गर्ने हो ? शोकमा रहेका परिवारको पीडा र मर्मलाई कसरी बुझ्ने हो । घाइते र अङ्गभङ्ग भएका नागरिकको व्यवस्थापन र भावी जीवन कसरी सहज बनाउन सकिएला यसतर्फ गम्भीर बन्नुपर्ने चुनौती खडा छ ।

३. खर्बौँको सम्पत्ति र सम्पदा सत्यानास

आन्दोलनका क्रममा खर्बौँको सम्पत्ति र सम्पदा नष्ट गरिएको छ ।  सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, संसद् भवनजस्ता राष्ट्रका धरोहर मानिने ऐतिहासिक भवन ध्वस्त पारिएको छ । त्यहाँ रहेका देशका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । मन्त्री निवास र अन्य सरकारी भवनहरू, पार्टीका कार्यालयहरू निजी तथा व्यावसायिक घर तथा भवनहरू सबैको सत्यानाश गरिएको छ । सरकारी सम्पत्ति कति क्षति भयो यसको आकलन अझै भइसकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघले जेन–जी आन्दोलनबाट निजी क्षेत्रमा मात्रै ८० अर्बको क्षति भएको प्रारम्भिक आकलन गरेको छ । सरकारी तथा निजी समग्रमा खर्बौँको भौतिक क्षति आन्दोलनका क्रममा भएको छ । यसको पुनर्निर्माण र समग्र मनोबल बढाउनु पर्ने अवस्था रहेको छ ।

४. संविधानसभाले निर्माण गरेको संविधानसमेत अलपत्र 

नेपालको संविधान २०७२ संविधानसभाले बनाएको ऐतिहासिक दस्ताबेज हो । यो जनताका प्रतिनिधिले पारित गरेको नेपालको पहिलो संविधानसमेत हो । एक पटक असफल भएपछि संविधान सभाको दोस्रो निर्वाचनबाट निर्वाचित संविधानसभाले पारित गरेको यो दस्ताबेज निर्माणमा धेरै ठुलो सङ्घर्ष बलिदानी र समय खर्च भएको छ । २०७२ असोज ३ गते संविधान दिवसका रूपमा मनाइँदै आएको छ । तर, संविधानसभाले निर्माण गरेको संविधानसमेत अहिले अलपत्र परेको छ । 

हुन त नेपालको इतिहासमा यो सातौँ संविधान हो । यसअघिका ६ वटा संविधान असफल भएपछि संविधानसभामार्फत यो संविधान निर्माण गरिएको हो । तर, जेन–जी आन्दोलनपछि यो संविधान अलपत्र भएको छ । संविधान बाहिरबाट अन्तरिम सरकार निर्माण गरिएको छ भने संविधानले कल्पनै नगरेको प्रतिनिधिसभा विघटन गरिएको छ । संविधानसभाले निर्माण गरेको संविधानसमेत कार्यान्वयन गर्न नसक्ने आजको अवस्थालाई कसरी मूल्याङ्कन गर्ने । अब कसरी संविधानले काम गर्छ या गर्दैन । संविधानको मार्गचित्रमा अघि नबढेपछिको नेपालको अवस्था कसले कसरी सञ्चालन गर्ने हो यी सबै प्रश्न अनुत्तरित रहेको देखिन्छ । 

५. निकासको मार्गचित्र अस्पष्ट

लोकतन्त्रमा देशको भाग्य र भविष्य निर्धारण गर्ने भनेको संविधानको परिधिभित्र रहेर विधि र प्रक्रिया अनुरूप नै हो । तर, अहिले त्यो अवस्था छैन । आन्दोलनको भावना भनेर संविधानलाई कुल्चन र मिच्न थालिएको छ । कसैले अब नेपालमा २०७२ को संविधान मरिसक्यो, त्यसैले नागरिकको शासन कायम छ भन्ने गरेका छन् । कतिपयले होइन यो संविधान मरिसकेको छैन, प्राण बाँकी नै छ भनिरहेका छन् । तर,m व्यवहारमा संविधान अनुरूप काम भएको देखिँदैन । 

निर्धारित मितिमा फागुन २१ गते चुनाव भयो भने के होला ? कथम् नभए ??? त्यसपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमै रहन्छ कि रहँदैन ? प्रदेश के हुन्छ त ? राष्ट्रियसभा चाहिँ ? प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भन्ने आवाज पनि उठिरहेको छ ? राजासहितको लोकतन्त्र भन्ने पनि छन् ? जनमत सङ्ग्रहका कुराहरू पनि सुन्न थालिएको छ ? यी सबै प्रश्नको भुमरीमा देश रुमल्लिइरहेको छ । तर, समाधानको सूत्र पत्तो लागेको छैन । समग्रमा निकासको मार्गचित्र अस्पष्ट देखिन्छ ।

६. दलदलमा दलः

जेन–जी आन्दोलनपछि नेपालका पुराना मानिने दलहरू कांग्रेस, एमाले र माओवादीभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको मुद्दा जबरजस्त उठ्न थालेको छ । तर, कुनै पनि दलका स्थापित पुराना नेताहरू यसलाई सहज रूपमा ग्रहण गरिरहेका छैनन् । यसले दलहरूभित्र थप अन्तरसंघर्ष चर्किने देखिन्छ । नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको समेत यो आन्दोलनले धरातल कमजोर बनाइदिएको विश्लेषण हुन थालेको छ । समग्रमा अहिले दलहरू दलदलमा फसेको देखिन्छ । वैधानिक उपायमार्फत पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको उपाय र यसप्रति व्याप्त अन्योल कायमै छ । 

७. सार्वभौमसत्तामै संकट

जेन–जी आन्दोलनपछि नेपालको सार्वभौमसत्ता नै सङ्कटमा परेको विश्लेषणसमेत भइरहेको छ । नेपालको भूराजनीति, छिमेक तथा अन्य शक्तिशाली मित्रराष्ट्रहरूका विभिन्न स्वार्थ र त्यसमा प्रयोग हुने नेपाली अनुहारहरूका कारण नेपालको सार्वभौमिक अधिकार असुरक्षित हुँदै गएको एवं सार्वभौमसत्ता नै सङ्कटमा परेको देखिन्छ । अन्तरिम सरकारका प्रधानमन्त्रीलाई शपथ लगत्तै शीतल निवासमा बधाई दिने क्रममा देश बचाउनुहोस्, जनता बचाउनुहोस् भनेर राष्ट्रपति रामचन्द्र पौडेलले गरेको आग्रहले यस्तै सङ्केत गरेको बुझ्न सकिन्छ । 

८. अन्योलमा अर्थतन्त्र

विभिन्न आरोह अवरोह झेल्दै र सम्हालिँदै आएको नेपालको अर्थतन्त्र जेन–जी आन्दोलनपछि थप सङ्कटग्रस्त बन्न पुगेको छ । उद्यमी व्यवसायीको मनोबल बढाउँदै लगानीमैत्री वातावरण तयार गर्ने कार्य धेरै नै चुनौतीपूर्ण देखिन्छ । समुन्नत नेपालको आकाङ्क्षा राखेका नेपाली युवाहरूको मनोभावना अनुरूप दोहोरो अङ्कको आर्थिक वृद्धि र समुन्नत नेपाल सम्मानित नेपालीको महत्त्वाकाङ्क्षा पूरा गर्न अन्योलमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउँदै अघि बढ्न त्यति सहज देखिँदैन ।

९. सामाजिक सञ्जालको भूमिका

जेन–जी आन्दोलनमा सामाजिक सञ्जाल अझ खास गरी साइबर बारको फर्मुला व्यापक रूपमा प्रयोग भएको देखिन्छ । सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्न खोज्दा उत्पन्न भएको आक्रोशबाट भएको यो आन्दोलनमा सामाजिक सञ्जालकै प्रयोग व्यापकरुपमा भएको पाइन्छ । के सामाजिक सञ्जाल नियमन र व्यवस्थापन आवश्यक छैन ? यसले राष्ट्रिय सुरक्षा र अन्य मामिलामा खडा गर्ने चुनौतीलाई भविष्यमा कसरी समाधान गर्न सकिन्छ ? 

कि यतातिर ध्यान दिन जरुरी छैन ? यस्ता थुप्रै सवालहरू आन्दोलनपछि उठ्न थालेको देखिन्छ । साइबर बार, क्राइम तथा डाटा सुरक्षाजस्ता सवालहरूलाई व्यापक छलफल र बहसपछि यसको प्रयोग र दुरुपयोगका सम्भावना र खतरा मूल्याङ्कन गर्दै एउटा निष्कर्षमा पुग्न सकिएन भने धेरै ठुल्ठूला समस्या राष्ट्रले भोग्नुपर्ने हुन्छ । यो सवालको पनि छिटो निरूपण हुनुपर्ने देखिन्छ ।

१०. नयाँ नायकको खोजी 

शक्ति र शक्तिशालीको पूजा गर्ने संस्कार, हिरोइजममा रमाउने प्रवृत्ति, देवता खोज्ने अर्थात् देवताको अवतारमा कोही उत्पत्ति हुन्छ र त्यसैले सबै विषयको समाधान गरिदिन्छ भन्ने मानसिकता नेपाली समाजमा हाबी हुँदै गएको देखिन्छ । जेन–जी आन्दोलनपछिको अवस्था र समग्र एजेन्डा सेटिङको माहौल हेर्दा अहिले समग्र नेपाली समाज यस्तै एउटा नायकको खोजीमा दौडिरहेको आभास हुन्छ । 

त्यो नायक काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) हुन भन्ने भाष्य तयार भइरहेको देखिन्छ । नयाँ नायकले साँच्चै नेपाल र नेपालीको भाग्य र भविष्य सुनिश्चित गर्न सक्लान् त ? कुन विधि र प्रक्रियाअन्तर्गत उनी स्थापित होलान् त ? उनको शक्तिको स्रोत नेपाल र नेपाली जनतानै हुने हुन या कुनै विदेशी शक्ति केन्द्र ? जेन–जी आन्दोलनपछि यी र यस्तै प्रश्नको समाधान खोज्नुपर्ने गोल चक्करमा हामी रुमल्लिइरहेका छौँ । आशा गरौँ निष्पट अँध्यारोपछिको बिहानी छिट्टै आउने छ ।
 

प्रतिक्रिया

विजयराज अधिकारी
लेखकको बारेमा
विजयराज अधिकारी

३ दशक अघि देखि पत्रकारिता क्षेत्रमा सक्रिय

सम्बन्धित समाचार