काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ।
हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार दुवै नेताको घरमा पुगेको स्रोतले जानकारी दिएको छ।
जेनजी आन्दोलनको क्रममा यी नेताका घर जलाइएका थिए। सो क्रममा ठूलो मात्रामा नगद रहेको भन्दै भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली नोटका जलेका टुक्रा समेत भेटिएको थियो भने सुरुङमा पैसा राखिएको दाबी पनि गरिएको थियो।
पूर्वऊर्जामन्त्री खड्काको घरबाट पनि केही नगद भेटिएको र रकम उड्दै गरेको भिडियो बाहिर आएको थियो। यसपछि विभागको टोली घटनास्थलमा पुगेर मुचुल्का गरेको छ।
जलेको घरको अवस्था, नगद रहेको ठाउँ र अन्य प्रमाण सङ्कलन गरिसकिएको विभाग स्रोतले जानकारी दिएको छ।
यसैबीच, देउवाको सचिवालयले विज्ञप्ति जारी गर्दै घरमा पैसा र सुरुङ नभएको दाबी गरेको छ । उक्त सुरुङको सट्टा पानीको ट्याङ्की रहेको सचिवालयको भनाइ छ ।
प्रतिक्रिया