जमराको के छ महत्त्व ?

सोमबार, ०६ असोज २०८२

काठमाडौँ : बडादसैँका बेला नेपाली समाजमा टीका र जमराको विशेष महत्त्व छ । दशैंमा रातो र सेतो टीका लगाउने चलन छ । हिन्दू धर्मावलम्बीहरूले दसैँको नवमीको दिन विधिपूर्वक राखिएको जमराको धार्मिक र वैज्ञानिक कारणहरू रहेको अध्येताहरूको भनाइछ ।

जमरा भनेको जौको अङ्कुर हो र यसको प्रयोग परम्परागत रूपमा विशेष धार्मिक महत्त्वका साथ गरिन्छ । धार्मिक मान्यताअनुसार, जमरा भगवतीलाई अति मनपर्ने प्रिय वस्तु हो ।

संस्कृति अध्येता कीर्तिनाथ मिश्रका अनुसार, ‘जमरा भनेको भगवतीलाई अति प्रिय वस्तु हो । त्यसमा विशेषगरी जौ को प्रयोग गरिन्छ । जौ नभई जमरा हुँदैन ।’ उनका अनुसार जौ तागत दिने अन्न हो र यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्यसैले देवी दुर्गालाई चढाउने प्रसादका रूपमा जौबाट पलाएको जमरालाई विशेष मानिन्छ ।

दसैँमा घरघरमा विधिपूर्वक राखिने जमरामा जौसँगै मकै पनि मिसाउने चलन छ । मिश्र भन्छन्, ‘मकै राख्ने परम्परा सर्वसाधारण तथा पाहुनालाई ‘लौ प्रसाद’ भनेर दिने चलनसँग सम्बन्धित छ । मकै मिसाउँदा जमरा झनै आकर्षक देखिन्छ ।’

जमराको औषधीय पक्षमा पनि विशेष ध्यान दिइन्छ । मिश्रका अनुसार,‘जमरा खाएमा शरीरमा सुगर (रक्तमा चिनी) को मात्रा कम गर्न सहयोग गर्छ ।’ यसैले जमराको धार्मिक महत्त्वसँगै स्वास्थ्यसम्बन्धी उपयोगिता पनि छ ।

वर्षौँदेखि दसैँको सांस्कृतिक र धार्मिक परम्परामा गहिरो रूपमा जरा गाडेको जमरा, केवल चाडपर्वको शोभा मात्रै होइन, भगवतीप्रतिको श्रद्धा, परम्पराको निरन्तरता, र स्वास्थ्यको सङ्केत समेत हो ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार