आज घर–घरमा फूलपाती भित्र्याइँदै

सोमबार, १३ असोज २०८२

काठमाडौँ : दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर घर–घरमा शास्त्रीय विधिअनुसार मनाइँदैछ ।

घटस्थापनादेखि वैदिक विधिपूर्वक आह्वान गरिएकी देवी दुर्गाको आराधनामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष घर भित्र्याइन्छ । यी सामग्रीलाई नवपत्रिका भनिन्छ, जसलाई नौ देवीको प्रतीक मानी पूजाआजा गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ । यी देवीहरू नवदुर्गाका पार्षद् हुन् ।

हनुमानढोका दरबारमा गोरखाबाट फूलपाती ल्याउने विशेष परम्परा छ ।

गोरखाबाट जीवनपुर (धादिङ) सम्म दशैंघरका पुजारीसहित मगर समुदायका प्रतिनिधिले फूलपाती ल्याउने, त्यसपछि जीवनपुरदेखि काठमाडौँको जमलसम्म ब्राह्मणहरूले बोकेर ल्याउने प्रचलन रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका अधिकारी, गुर्जु पल्टन, बाजागाजा र सांस्कृतिक कार्यक्रमसहित फूलपाती भित्र्याइन्छ ।

राजतन्त्रकालमा यस कार्यक्रममा राजाको उपस्थिति रहने गरेकामा गणतन्त्रपछि संस्कृति मन्त्री सहभागी हुने गरेका छन् ।

यस वर्ष सोमबार अपराह्न ४:३० बजे फूलपाती भित्र्याइने कार्यक्रम तय भएको छ । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।

आजको दिनदेखि नेपालीहरूको महान् चाड दसैँमा सामाजिक चहलपहल झन् बढ्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार