आकाङ्क्षा धामी
काठमाडौँ : आज सप्तमी अर्थात् फूलपाती! हिन्दु धर्मावलम्बीका लागि यस तिथिको विशेष महत्त्व छ। सप्तमीको दिन दशैंका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने परम्परा छ। घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको वास्तविक चहलपहल आज अर्थात् फूलपातीदेखि सुरु हुने मानिन्छ।
घर–घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ। शास्त्रीय विधि अनुसार शुभ मुहूर्तको प्रतीक मान्दै फूलपाती भित्र्याउने चलन छ।
फूलपाती भन्नाले नवरात्रिका नौ प्रकारका वनस्पतिको संयोजनलाई जनाइन्छ। शास्त्रीय विधिअनुसार, यस दिन शुभ मुहूर्त हेरेर नौ देवीहरूको प्रतीक स्वरूप नवपत्रिकालाई पूजा गरी घरमा ल्याइन्छ।
यी पातहरूमा केरा, दारिम, धान, हलेदा, माने, कर्चुरा, बेल, अशोक र जयन्ती समावेश हुन्छन्। वेद र पुराणमा उल्लिखित अनुसार, नवदुर्गाको स्वरूपमा यी नौ वनस्पति पूजा गरिन्छ।
प्रथम दिन शैलपुत्री, त्यसपछि ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ। सप्तमीको दिनको देवी कालरात्रि भएकाले नवपत्रिकाको स्थापना गर्ने चलन छ।
वेद गुरु रवीन्द्र आचार्यका अनुसार, “फूलपातीको दिन नौ वटै देवीहरूको प्रतीक स्वरूप नवपत्रिका अर्थात् पातहरूलाई पूजा गरिन्छ। वनस्पतिको माध्यमबाट भगवतीको आह्वान गरिन्छ।
विशेषतः बिहानको शुभ मुहूर्त, साँझ वा मध्यरातमा पूजा गरी सङ्ख–घण्टी, मंगलधुन र स्वस्तिवाचनसहित ब्राह्मणहरूको अगुवाइमा फूलपाती भित्र्याउने परम्परा छ।”
फूलपाती भित्र्याउने परम्परामा भौगोलिक विविधता अनुसार केही भिन्नता देखिए पनि मूल भावना एउटै छ। देवी दुर्गाको आह्वान र पूजन पूर्वदेखि पश्चिमसम्म विभिन्न जातजाति, धर्म र सम्प्रदायमा फरक देखिए पनि यसको सारमा दशैंको सांस्कृतिक र धार्मिक गहिराइ झन् उजागर हुन्छ।
पण्डित नारायण प्रसाद आचार्यका अनुसार, फूलपातीको दिन असुरहरूलाई नष्ट गर्ने शक्ति र सामर्थ्यको भावका साथ दारिम, धान, हरिद्रा, कचु, बेल, अशोक र जयन्ती जस्ता वनस्पतिहरू सङ्कलन गरेर भगवती आमाको स्थानमा राखिन्छ।
उनले भने, “फूलपाती भित्र्याउने अघिल्लो दिन वृक्ष, पात र फूललाई निमन्त्रणा दिनुपर्छ। निमन्त्रणा गरेपछि भोलिपल्ट भगवतीको स्थानमा राखिन्छ। सङ्ख–घण्टी बजाउँदै, धूप बाल्दै, दही, अक्षता लगायतका पूजा सामग्रीसहित पूजा गर्ने चलन छ।”
उनका अनुसार फूलपाती, वृक्ष र मानवको सम्बन्ध रथको दुई पाङ्ग्राजस्तै रहेको छ। फूलपाती भित्र्याएपछि भगवती आमाको पूजा गरिन्छ। केरा, हरिद्रा, दारिम, धान, कचु, बेल, अशोक र जयन्तीका पातमा नौ देवीहरूको प्रतीक पूजाअनुसार राखिन्छ।
केरामा ब्रह्मयणी, हरिद्रामा दुर्गा, दारिममा रत्नदन्ती, धानमा लक्ष्मी, कचुमा कालिका, महान् वृक्षमा चामुण्डा, बेलपत्रमा शिव, अशोकमा शोक हरिणी र जयन्तीमा जयन्ती देवीको पूजा गरिन्छ। यसरी पूजा गर्दा असुर नष्ट गर्ने शक्ति र देवीको प्रभाव वृद्धि हुने विश्वास गरिएको छ।
प्रतिक्रिया