सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ मा आइतबार राति घरमै सुतिरहेका बेला खुकुरी प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा २० वर्षीय निशान राई रहेका छन्। प्रहरीका अनुसार राति करिब ८ः१० बजेतिर उनीमाथि धारिलो हतियार प्रयोग गरी प्रहार गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार २१ वर्षीय ओबिन राई, सुजन तामाङ, बोबो लिम्बू र ‘हडबडे’ नामले चिनिने अर्का एक युवकको समूहले निशानमाथि आक्रमण गरेको पाइएको छ।
प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मोटरसाइकलमा आएका उनीहरूले घरमै पसेर खुकुरी प्रहार गरेका थिए। आक्रमणपछि उनीहरू मोटरसाइकलमै चढी फरार भएका थिए। तर खोजी गर्ने क्रममा घटनामा संलग्न ओबिन राई खुकुरीसहित राति १०ः४५ बजे पक्राउ परेका छन्। उनको पनि टाउको र बायाँ हातको औंलामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरीले धरान–११ का २२ वर्षीय देवान राईलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका निशान राईलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको थियो। उनको पेट, ढाड, बायाँ कुम, कुहिनो, नाडी र दायाँ हातको कुहिनामा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया