कोइराला निवासबाट विश्वप्रकाशले भने,‘देउवा निवासको पैसा प्रकरणमा अनुसन्धान आवश्यक'

सोमबार, ०६ असोज २०८२

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेको नोटसम्बन्धी विषयलाई अनुमान र हल्लाका भरमा भन्दा पनि निष्पक्ष अनुसन्धानमार्फत छानबिन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

सोमबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारसँग कुरा गर्दै उनले सम्पत्ति शुद्धीकरण विभागसहितका राज्यका निकायहरू यसबारे अनुसन्धानमा संलग्न भइसकेको भन्दै त्यही प्रक्रियाबाट आएको नतिजालाई स्वीकार गर्नुपर्ने स्पष्ट पारे ।  ‘अनुमान र हल्लाले होइन । अनुसन्धानले मात्र सत्य बाहिर ल्याउँछ,’ शर्माले भने ।

उनले यस विषयमा कांग्रेसका जिल्ला सभापतिहरूले पनि प्रश्न उठाइसकेको स्मरण गर्दै स्पष्ट जवाफ दिने जिम्मेवारी सभापति निवास पक्षकै हुने बताए । ‘मैले आफ्नोतर्फबाट यसबारे ध्यानाकर्षण गराइसकेको छु । अब सत्य बाहिर ल्याउने काम राज्यका निकायले गर्ने हो,’ उनको भनाइ थियो ।

देउवा निवास प्रकरणबारे विभिन्न तस्बिर र भिडियो सार्वजनिक भए पनि त्यसको प्रामाणिकता विवादित रहेको भन्दै उनले प्रचार–प्रसारभन्दा छानबिनलाई प्राथमिकता दिन आग्रह गरे । पार्टीको आन्तरिक सन्दर्भतर्फ फर्कँदै शर्माले सभापति देउवाको स्वास्थ्य लाभको शुभकामना दिँदै पार्टीलाई पनि समान रूपले ‘स्वस्थ बनाउनुपर्ने आवश्यकता औंल्याए । 

उनका अनुसार जेनजी आन्दोलनपश्चात नेतृत्वको सवालमा उठेका प्रश्नलाई समाधान गर्न कांग्रेसलाई मंसिरभित्र महाधिवेशनतर्फ लैजाने तयारी जरुरी छ । तत्कालै महाधिवेशनमा जाने वा ढिलो गर्ने विषयमा फरक धारणा भए पनि साझा निष्कर्ष केन्द्रीय समितिबाट आउने उनले जनाए । 

कोइराला निवासको प्रांगणमै उभिएर उनले पार्टीलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता प्रकट गर्दै भने, ‘हामी नयाँ शैलीमा आउनेछौं, मुलुकलाई सम्भावनातिर डोहो¥याउने छौं । परिस्थितिलाई सम्हाल्दै देशलाई नयाँ दिशातिर लैजाने हाम्रो संकल्प छ ।’

शर्माले जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको आगजनीले पार्टी मात्र नभई मुलुकलाई पनि ठूलो क्षति पु¥याएको स्मरण गरे । उनले संकटलाई अवसरमा बदल्दै कांग्रेसलाई सुदृढ बनाउनुपर्ने तत्कालीन आवश्यकता रहेको उल्लेख गरे ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार