नयाँ शिक्षामन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृष्य

सोमबार, ०६ असोज २०८२

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार कार्यभार सम्हाल्दा केशरमहलस्थित मन्त्रालयमा भिन्नै दृष्य देखियो। सामान्यतया मन्त्री पदबहालीका दिन खादा, माला र फूलको भीड हुने गर्छ तर मन्त्री पुनले सामाजिक सञ्जालमार्फत आफूलाई “खादा लिएर नआउन” र “मन्त्री नभन्न” भन्दै अपिल गरेपछि कर्मचारीहरू द्विविधामा परेका थिए। अन्ततः केही पुष्पगुच्छा र एउटा रुद्राक्षको माला मात्र बोकेर उनीहरूले स्वागत गरे।

सार्वजनिक बिदा र लगातारको वर्षाले मन्त्रालयमा भीड थिएन। सचिवहरूले स्वागतका लागि पुष्पगुच्छा थमाइरहेका बेला मन्त्री पुन मुस्कानसहित एक हात हल्लाउँदै मन्त्रालयमा छिरे। रातो रङको गलबन्दी जस्तो खादा लगाएकाले रुद्राक्षको माला लगाउन सजिलो भएको देखिन्थ्यो।

समिति गठन र निर्देशन

पदबहालीसँगै मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले चारवटा सल्लाहकार समिति गठन गर्ने प्रस्ताव स्वीकृत गरे। समितिमा निस्वार्थ योगदान गर्नुपर्नेमा उनले जोड दिँदै विभागीय प्रमुखहरूलाई युवा पुस्ताको अपेक्षाअनुरूप नयाँ काममा सुझाव दिन आग्रह गरे।

“मन्त्री भएर ठूलो भएको होइन, शुद्ध मनले नयाँ सोचसहित सुझाव दिनुपर्छ,” उनले भने, “जेनजी आन्दोलनको मर्मअनुसार भ्रष्टाचार र बदमासी अब रोकिनुपर्छ।”

पुराना सम्झना र चुनौती

पुनले २०८० वैशाख १८ मा गरेको धर्ना सम्झिँदै सरकारसँग वैज्ञानिक अनुसन्धानमा बजेट सुनिश्चित गर्ने सम्झौता अझै कार्यान्वयन नभएको गुनासो गरे। ३० वर्षअघि विज्ञान मन्त्रालय बने पनि खास प्रगति नभएको टिप्पणी गर्दै उनले पर्याप्त बजेट जुटाउनुपर्नेमा जोड दिए।

स्वागत भाषणमा उनले आफू मन्त्री हुनु जीवनको “दृष्य परिवर्तन” भएको बताए। “डाँडाकाँडामा हुने मान्छे एकैपटक मन्त्रालयमा आएको छु,” पुनले भने, “म मन्त्री भएपछि आविष्कार केन्द्रमा बस्न मिल्दैन, अब मन्त्रालयमै सुत्ने कोठा र भान्सा बनाउनुपर्छ।”

व्यक्तिगत सुरक्षाकर्मी नचाहिने र निजी काममा सरकारी गाडी प्रयोग नगर्ने घोषणा गर्दै उनले पारदर्शी अभ्यासको संकेत पनि गरे।

पृष्ठभूमि र पहिचान

रोमन म्याग्सेसे पुरस्कार विजेता पुन नेपाली वैज्ञानिक, शिक्षक र सामाजिक उद्यमीका रूपमा चिनिन्छन्। उनले ताररहित इन्टरनेट प्रविधि हिमालका दुर्गम गाउँमा पुर्‍याएर विशेष पहिचान बनाएका छन्। पछिल्ला वर्षमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना, कृषि औजार कारखाना पुनः सञ्चालन अभियानलगायत कार्यमा सक्रिय रहँदै आएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार