सङ्खुवासभा : जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् ।
प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर–१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
त्यसैगरी, सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबरजस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र जबरजस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई पक्राउ गरिएको प्रहरी निरीक्षक लामिछानेले बताए ।
तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन् भने राई नख्खु कारागारबाट भागेका थिए । पक्राउ परेका तीनै कैदीलाई बुधबार क्षेत्रीय कारागार झुम्कामा बुझाउने तयारी भइरहेको जिल्ला कारागारका प्रमुख जेलर राजन घिमिरेले बताए ।
जिल्ला कारागार खाँदवारिमा भने हाल एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका छन् ।
प्रतिक्रिया