विराटनगर । मोरङको रंगेली नगरपालिका–२ दिनाटोलका ३५ वर्षीय भविचन्द साहको करेन्ट लागेर असामयिक निधन भएपछि परिवार शोकसँगै बिचल्लीमा परेको छ।
गत असोज १ गते बिहान टिनको छानो भएको आफ्नै घरमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा भविचन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको असामयिक निधनपछि परिवारमा शोकसँगै आर्थिक संकटको डबल पीडा थपिएको छ।
मृतककी श्रीमती अमृता साह अहिले किरिया गर्नसमेत खर्च जुटाउन नसकेको अवस्था छ। उनले समाजका मनकारीहरूसमक्ष सहयोगको लागि सार्वजनिक अपिल गरेकी छन्। “दुई छाक टार्नै मुस्किल परेको छ, श्रीमानको काजक्रियासम्म गर्न नसक्ने परिस्थिति आएको छ,” अमृताले भनिन्।
भविचन्दका स–साना तीन छोराहरू—खेमराज, महेश र गोपाल—अनाथ बनेका छन्। परिवारमा रहेका उनका वृद्ध बुवा बच्चो साह र आमा घुर्नेदेवी साह दुवैजना विगत १५ वर्षदेखि शारीरिक रूपमा अशक्त छन्। यससँगै मृतकका कान्छा भाइ प्रल्हाद साह दैनिक ज्यालादारी मजदुरीमा भर पर्नुपर्ने बाध्यतामा छन् तर सात जनाको परिवार धान्न कठिन भएको छ।
स्थानीयका अनुसार साह परिवार अत्यन्तै विपन्न अवस्थामा रहेको छ। उनीहरू विगत वर्षदेखि १ कट्ठा जग्गामा बनेको सानो झुप्रो घरमा बसोबास गर्दै आएका थिए। आम्दानीको अन्य स्रोत नभएकाले परिवार अहिले दिन–प्रतिदिनको जीवन धान्नै संघर्षरत छ।
पीडित परिवारले हिन्दु परम्पराअनुसार काजक्रिया सम्पन्न गर्न र नाबालक बालबालिकाको पालनपोषणका लागि मनकारी व्यक्तिहरूको स–साना सहयोगले समेत ठूलो राहत हुने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया