कोशीमा जेनजी आन्दोलन: ५७ वटा प्रहरी कार्यालयमा आक्रमण, चोक–चोकमा खुलेआम डाइस खेलाइँदै

बुधबार, ०८ असोज २०८२

विराटनगर । जेनजी आन्दोलनका नाममा कोशी प्रदेशमा मच्चाइएको आगजनी, तोडफोड र आक्रमणका कारण सामान्य अवस्थामा फर्किन प्रहरीलाई समस्या भइरहेको छ ।

भदौ २३ र २४ गतेको आन्दोलनमा प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरीका संरचनामा आगजनी र तोडफोड गरिएको थियो । कतिपय प्रहरी कार्यालयमा लुटपाटसमेत मच्चाइयो । आन्दोलनको आवरणमा अराजक समूहले कोशीका ५७ वटा प्रहरी कार्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आगजनी र तोडफोडबाट २४ वटा प्रहरी कार्यालय पूर्णरूपमा जलेर ध्वस्त भएका छन् भने ३३ वटामा आंशिक क्षति पुगेको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार ८४ वटा प्रहरी सवारीसाधन ध्वस्त भएका छन्, जसमा ८ वटा हेभी सवारीसमेत छन् ।

प्रदेशकै व्यस्त स्थान इटहरी चोक अहिले प्रहरीविहीन बनेको छ । विराटनगर, काँकडभिट्टा, भद्रपुर, बिर्तामोड, दमक, इनरुवा, धरानसहितका मुख्य बजार र राजमार्गमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको उपस्थिति कमजोर बनेको छ । चाडबाड नजिकिँदै गर्दा सवारीसाधनको चाप बढ्दो भए पनि सडकमा ट्राफिक प्रहरी देखिँदैनन् ।

भदौ २४ मा अराजक समूहले इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा आगजनी गर्दा भवन, ब्यारेक, सामग्री, पोसाक र सवारीसाधन जलेर नष्ट भए । “अहिले जलेर धुवाँले कालो भएको जीर्ण भवन मात्रै छ । सबै सामान खरानी भएका छन् । सवारीसाधन छैनन् । हामी संरचनाविहीन अवस्थामा छौं,” कार्यालयका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए ।

आन्दोलनका बेला प्रहरीमाथि आक्रमण भएपछि उनीहरूले हतियार र बर्दी छाडेर भाग्नुपर्ने अवस्था आएको थियो । इटहरी चोक नजिक रहेको इलाका प्रहरी कार्यालय आगजनीपछि पूर्णरूपमा ध्वस्त बनेको छ । घटनापछि त्यहाँका प्रहरी विस्थापित भई हाल तरहराको चौकीमा अस्थायी रूपमा बसिरहेका छन् ।

“आन्दोलनकारीले लखेटेपछि प्रहरीलाई त्यही कार्यालय फर्काउन कठिन भएको छ । कार्यालय र सवारीसाधन जलाएर खरानी बनाइएको छ । बस्ने ठाउँ छैन । प्रहरीको मनोबल फर्काउन समय लाग्छ,” एक प्रहरी अधिकारीले बताए । प्रहरीको अनुपस्थितिमा प्रदेशका चोक–चोकमा लंगुर बुर्जा (डाइस) लगायतका जुवाजन्य खेल खुलेआम सञ्चालन हुन थालेका छन् ।

आन्दोलनमा क्षतिग्रस्त कार्यालयमध्ये हालसम्म सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालय मात्रै पुनर्स्थापित भएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार बाँकी कार्यालय पुनर्निर्माणका लागि पहल भइरहेको छ तर तत्काल सम्भव नभएकाले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानसमेत प्रभावित बनेका छन् ।

“पूर्वाधार नष्ट हुँदा काम प्रभावित भए पनि समुदायसँग मिलेर पुनःस्थापना गर्ने काम भइरहेको छ,” डीआईजी कार्कीले भने । उनका अनुसार आन्दोलनका क्रममा खोसिएका हतियारमध्ये धेरैजसो फिर्ता ल्याइएको छ भने केही जलेर नष्ट भएका छन् । चाडपर्वलाई लक्षित गरेर सीमा क्षेत्रमा चोरी–तस्करी नियन्त्रणमा विशेष ध्यान दिइएको र सुरक्षा व्यवस्था कडाइ गरिएको उनले बताए ।

तर, प्रहरी कार्यालय ध्वस्त हुनु, सवारीसाधन जलेर नष्ट हुनु र प्रहरीलाई बर्दी उतारेर भाग्न बाध्य पारिनुले सुरक्षा निकायको मनोबल गम्भीर रूपमा खस्किएको छ । प्रहरी आफैं असुरक्षित बनेपछि अपराधिक घटना बढ्न सक्ने चिन्ता सर्वसाधारणमा फैलिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार