बालुवाटार गएर बालेनले प्रधानमन्त्रीलाई सोधे : ‘गोली चलाउने अझै किन कारबाहीबाहिर’?

बुधबार, ०८ असोज २०८२

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि अहिलेसम्म कारबाही नभएको विषयमा असन्तोष व्यक्त गरेका छन्।

बुधबार बिहान बालुवाटार पुगेका बालेनले प्रधानमन्त्रीसँग करिब आधा घण्टा लामो भेटवार्ता गरेका थिए। भेटमा प्रधानमन्त्री कार्कीले ‘बाहिरको माहोल कस्तो छ?’ भनेर जिज्ञासा राखेकी थिइन्।

त्यसपछि बालेनले आन्दोलनपछिका घटनाक्रमबारे धारणा राख्दै भदौ २३ गते प्रदर्शनमाथि भएको गोली प्रहारका जिम्मेवारलाई किन अझै पक्राउ नगरिएको भनेर प्रश्न उठाए।

‘सरकार गठन भएको यति दिन भइसक्यो। गोली चलाउने र आदेश दिनेहरू कहाँ छन्? किन कारबाही भएन?’ बालेनको भनाइ उद्धृत गर्दै स्रोतले बतायो। उनले पीडित परिवारहरू असन्तुष्ट बन्दै गएको र तत्काल कारबाही नभए असन्तोष चुलिन सक्ने चेतावनीसमेत दिएका थिए।

जवाफमा प्रधानमन्त्री कार्कीले आफू गम्भीर रहेको भन्दै, “अत्याचार गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन, उन्मुक्ति दिने कुरै छैन” भन्ने प्रतिक्रिया दिएको स्रोतले जानकारी दियो।

बालेन सुरुदेखि नै जेनजी आन्दोलनको समर्थन र सहजीकरणमा सक्रिय थिए। भदौ २४ गतेको विध्वंसपछि उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी जेनजी र सेनाबीच वार्ता गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए। त्यसै प्रक्रियामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्वमा आएकी हुन्।

तर, आन्दोलनका बेला भएको दमन र विध्वंसबारे छानबिन गर्न गत शुक्रबार बनेको न्यायिक जाँचबुझ आयोग अहिलेसम्म सक्रिय हुन सकेको छैन।

आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले शपथ नै खाइसकेका छैनन्, गृह मन्त्रालयको ढिलासुस्तीले कार्य प्रारम्भ हुन सकेको छैन। भदौ २३ गते प्रहरीले गोली चलाउँदा पहिलो दिनमै १९ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार