जेनजीलाई लक्षित गर्दै मतदाता नामावली संकलन सुरु

विहीबार, ०९ असोज २०८२

काठमाडौं : आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले अध्यादेशमार्फत मतदाता नामावली संकलन सुरु गरेको छ।

आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका र नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गई नाम दर्ता गराउन सक्नेछन्। नाम दर्ता बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म, सार्वजनिक बिदा बाहेकका दिनमा खुला रहनेछ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले ताजा जनादेशका लागि निर्वाचन घोषणा गरेसँगै सरकारले बुधबार अध्यादेश जारी गरी लामो समयदेखि देखिएको कानुनी गाँठो फुकाएको हो। यसअघि योग्यता पुगे पनि थुप्रै युवाहरू मतदाता नामावलीमा दर्ता हुन नसकेका थिए।

आयोगका अनुसार यस अभियानमार्फत नयाँ मतदाता दर्तासँगै विवाह वा बसाइँ सराइका कारण स्थान परिवर्तन गर्ने, नाम वा विवरणमा त्रुटि भएका मतदाताले सच्याउन सक्ने व्यवस्था पनि मिलाइएको छ।

निर्वाचनको मिति आधिकारिक रूपमा घोषणा भएलगत्तै मतदाता नामावली संकलन कार्य स्वतः स्थगित हुने कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार