काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेपछि आज राष्ट्रका नाममा पहिलो सम्बोधन गरेकी छिन् । सम्बोधनमार्फत उनले शासकीय प्रणालीमा परिवर्तन र सुशासनप्रति जनअपेक्षा पूरा गर्ने लक्ष्यसहित आगामी छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको स्पष्ट पारिन् ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा भदौ २७ गते कार्कीको नेतृत्वमा आन्तरिक सरकार गठन भएको हो । त्यसबमोजिम उनले आज सिंहदरबारबाट पहिलो पटक राष्ट्रलाई सम्बोधन गरेकी हुन् ।
संवोधन अघि सिंहदरबारमै विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । सम्बोधनमा प्रधानमन्त्री कार्कीले तोकिएको मिति आगामी फागुन २१ गते नै स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
विदेशमा रहेका नेपाली मतदातालाई समेत मतदान प्रक्रियामा सहभागी गराउने उपायबारे सरकारले गम्भीरतापूर्वक अध्ययन गरिरहेको उनले जानकारी दिइन् ।
युवापुस्ताको अपेक्षा अनुसार योग्य प्रतिनिधि चयन गर्न सबै मतदातालाई उत्साहपूर्वक निर्वाचनमा सहभागी हुन आग्रह गर्दै उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन निर्वाचनलाई महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको स्पष्ट गरिन् । सरकारका कुनै पनि निकायमा ढिलासुस्ती, भ्रष्टाचारजन्य वा झञ्झटपूर्ण कार्य भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै तीनै तहका सम्बन्धित सरकारी निकायमा उजुरी दिन ‘हटलाइन’को प्रबन्ध गरिएको उनले बताईन् ।
प्रधानमन्त्री कार्कीले संविधान संशोधनसम्बन्धी मुद्दाको सम्बोधन जननिर्वाचित संसद्बाट गर्न आग्रह गर्दै जेनजी समूहको आन्दोलनको मर्म र भावनाबमोजिम सरकार सञ्चालन गरिरहेको सरकारलाई सहयोग गन सबैसँग आग्रह गरिन् । उनले चालु आर्थिक वर्षअन्तर्गतका स्रोत सुनिश्चित नभएका र टुक्रे आयोजनाका नाममा विनियोजित बजेट खारेज गरिएको जानकारी गराउँदै क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि ‘पुनःनिर्माण कोष’ स्थापना गरिएको बताइन् ।
प्रधानमन्त्री कार्कीले परिवर्तित स्थितिमा मनोबन गिराउने खालका काम नगर्न र रुपान्तरित भएर सेवाप्रवाह गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीसँग अपिल गरिन् ।
प्रतिक्रिया