मोरङ जिल्ला प्रशासन कार्यालयको मर्मत–सम्भार तीव्र, सहयोगी संस्थाबाट सामग्री संकलन

विहीबार, ०९ असोज २०८२

काठमाडौं : जेन–जी आन्दोलनका क्रममा आगजनी र लुटपाटबाट ध्वस्त भएको मोरङ जिल्ला प्रशासन कार्यालयको मर्मत–सम्भार तीव्र गतिमा अघि बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कार्यालयको भवन, रंगरोगन र आवश्यक सामाग्री जुटाउने काम जारी छ । आगजनीले कार्यालयभित्रका करिब डेढ लाख राष्ट्रिय परिचयपत्र, ४ सय राहदानी, र विचाराधीन ४ सय मुद्दाका फाइल जलाएर नष्ट गरिसकेको थियो । २०४८ सालका नागरिकताको अभिलेख पनि आगलागीमा नष्ट भएका छन् ।

सहयोगी संस्थाहरुबाट कार्यालयलाई आवश्यक सामाग्री जुटाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले १० वटा कम्प्युटर, जीवन विकास लघुवित्तले ३ वटा प्रिन्टर सहयोग गरेका छन् । निर्माण व्यावसायी संघ, इँटा व्यावसायी संघ, मदिरा व्यावसायी संघ र उद्योग संगठन जस्ता संघ संस्थाले रंग, सिलिङ पंखा र अन्य सामग्री उपलब्ध गराएका छन् ।

यादवका अनुसार, नागरिकता र राहदानी वितरणका लागि छुट्टै संरचना निर्माण भइरहेको छ । दशैंपछि मर्मत सम्पन्न भएपछि पूर्ण सेवा सुरु गरिने छ, यद्यपि अत्यावश्यक सेवा भने पहिले नै सञ्चालन भइरहेको छ ।

कार्यालयको संरचनामा मात्रै आगजनी र लुटपाटबाट ४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रजिअ यादवले जानकारी दिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार