काठमाडौँ : आफूलाई पार्टीमा निर्विकल्प नेतृत्व ठान्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला घेराबन्दीमा परेका छन्।
अध्यक्ष प्रचण्डलाई अध्यक्षबाट हटाउन वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बिच मतैक्यता हुँदा प्रचण्ड अप्ठ्यारोमा परेका हुन्।
अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमार्फत साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध पार्टीले राष्ट्रिय आन्दोलनलाई मुख्य राजनीतिक एजेन्डा बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
विशेष महाधिवेशनअघि नै समाजवादी मोर्चामा आबद्ध दलसँगको एकता हुन सक्ने विषय पनि उठाउँदै उनले भनेका छन्, ‘दलहरूसँग एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढिरहेको छ।
विशेष महाधिवेशनभन्दा अघि नै एकता महाधिवेशन गर्नुपर्ने परिस्थिति आउन सक्छ।’ आगामी मङ्सिरमा विशेष महाधिवेशन घोषणा गर्दै वर्तमान केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने प्रस्ताव प्रचण्डले बैठकमा पेस गरेका हुन्।
तर दोस्रो तहका नेताहरूले अध्यक्ष प्रचण्डको प्रस्तावअनुसार विशेष महाधिवेशन गरेर जान सम्भव नभएको दाबी गर्दै आएका छन्। तीन दशकसम्म एकै व्यक्ति प्रमुख नेतृत्वमा रहँदा नागरिकमा नकारात्मक सन्देश गएको भन्दै अध्यक्ष प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए।
पार्टी केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पेस गर्दै उनले मङ्सिरमा विशेष महाधिवेशन असम्भव रहेको दाबी गर्दै अहिले नै कार्यवाहक अध्यक्ष तोकेर चुनावमा जाने र त्यसलगत्तै पार्टी महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। फागुन २१ मा हुने निर्वाचनमा कार्यवाहक अध्यक्षकै नेतृत्वमा अघि बढ्न प्रचण्डले पद त्याग गर्नुपर्ने दबाब पार्टीभित्र बढ्दो छ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अहिले कार्यवाहक जिम्मेवारी लिएर चुनाव गराउने र चुनावपछि विशेष महाधिवेशनमा जाने योजनामा छन्। ‘अहिले संस्थागत प्रणालीअन्तर्गत दोस्रो वरीयताका नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर पार्टी पुनर्गठनको सन्देश दिन र जनतालाई अपिल गर्नु सकारात्मक कदम हुनेछ,’ श्रेष्ठले भनेका छन्।
श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर जाने प्रस्तावमा उपमहासचिव जनार्दन शर्माको पनि समर्थन छ। आगामी महाधिवेशनबाट आफू नेतृत्वमा पुग्ने योजना बनाएका शर्माले अहिले श्रेष्ठलाई कार्यवाहक दिएर जाँदा पुस्तान्तरणको बहसले सार्थकता पाउने बताएका छन्। प्रचण्डलाई अध्यक्षबाट हटाएर प्रतिनिधिसभा निर्वाचनपछि हुने महाधिवेशनमा आफू नेतृत्वमा स्थापित हुने दाउमा उनी छन्।
शर्माले पेस गरेको फरक प्रस्तावमा पनि अब प्रचण्डको अपिल जनताले नसुन्ने दाबी गरिएको छ। केन्द्रीय कमिटी बैठकमा पेस गरेको उक्त प्रस्तावमा भनिएको छ, ‘अहिलेकै नेतृत्वको अपिल अब जनताले सुन्दैनन्। जनताले सुन्ने गरी अपिल गर्न सक्ने नयाँ अनुहारहरू अगाडि सार्न जरुरी छ। त्यसका लागि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौँ।’
माओवादी केन्द्रका एक पदाधिकारी भने शर्मा प्रचण्डलाई अहिले गलाएर नेतृत्वमा पुग्ने रणनीतिमा रहेको बताउँछन्। उनले भने, ‘अहिले कमरेड अध्यक्षलाई हटाएर वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक दिएर जाने र सात/आठ महिनापछि महाधिवेशनमा जाँदा आफू नेतृत्वमा स्थापित हुन सक्ने जोड घटाउका साथ जनार्दनजी लागिरहनुभएको छ। तर उहाँलाई पनि अरू नेताहरूले मानिहाल्ने अवस्था रहँदैन।’
नेतृत्व हस्तान्तरणबारे लामो समयदेखि प्रचण्डको विकल्प खोज्दै आएका शर्मा यसअघिका बैठकमा एक्लिँदै आएका थिए। माओवादीको गत साउनमा भएको बैठकमा समेत जनार्दनविरुद्ध केन्द्रीय समितिका अधिकांश नेताहरू खनिएका थिए।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठको फरक प्रस्तावमा विगतमा दाहालको नेतृत्वले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने भन्दै लेखेका छन्, ‘अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ उहाँप्रतिको सम्मान कायम राख्दै र उहाँको निरन्तरको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिका स्थापित गरिनुपर्छ।’
नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनका निम्ति जनयुद्धको मुख्य भूमिका यथार्थ रहेको र त्यसमा प्रचण्डको मुख्य योगदान रहेको तथ्य सर्वस्वीकार्य रहेको पनि श्रेष्ठले बताएका छन्। तर एउटै व्यक्ति तीन दशकसम्म नेतृत्वमा रहँदा आमरूपमा नकारात्मक सन्देश गएको उनको दाबी छ।
‘जेन–जी आन्दोलनपछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूका सन्दर्भमा जनमानसमा परेको वा पारिएको पर्सेप्सनको परिप्रेक्ष्यमा जनतामा अपिलसहित पार्टी निर्माण प्रक्रियामा अघि बढ्न आजको सन्दर्भमा नयाँ ढङ्गले अघि बढ्नु आवश्यक छ। त्यसका लागि अध्यक्ष प्रचण्डले कार्यकारी भूमिका छाडेर अभिभावकत्वको भूमिकामा रहनु उपयुक्त हुन्छ,’ उनले प्रचण्डले छाड्नुपर्ने तर्क पेस गर्दै भनेका छन्। नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र ‘प्रभाकर’ले घेराबन्दीको कोसिस गरे पनि केन्द्रीय कमिटीका ठूलो सङ्ख्या भने प्रचण्डले तत्काल नेतृत्व छाड्न नहुने पक्षमा खुलेका छन्।
अध्यक्ष प्रचण्डमाथि दोस्रो तहका नेताहरूले नेतृत्वबाट तत्काल हट्न दबाब बढाए पनि वर्तमान राजनीतिक परिस्थितिमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन नै सही भएको पार्टी सचिव हितराज पाण्डेले बताए।
केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रस्तावलाई स्वीकार गरेर जाँदा नै उपयुक्त हुने उल्लेख गर्दै उनले मध्यान्हसँग भने, ‘पार्टीको विशेष महाधिवेशन गर्ने र स्वाधीनताको रक्षा गर्ने सवालमा पार्टी अध्यक्ष प्रचण्डको प्रस्ताव ठिक छ।’ विभिन्न १० वटा समूह बनाएर छलफल जारी रहेकाले शुक्रवारसम्म यो विषयमा निष्कर्ष निस्कने पाण्डेले बताए।
प्रतिक्रिया