जोगवनीमा साम्प्रदायिक तनावपछि बन्द भएको रानी नाका पुनः सञ्चालनमा

शुक्रबार, १० असोज २०८२

विराटनगर : भारतको जोगवनी बजारमा शुक्रबार बिहान देखिएको साम्प्रदायिक तनाव क्रमशः शान्त बन्दै गएपछि बन्द गरिएको विराटनगरस्थित रानी नाका पुनः सञ्चालनमा आएको छ ।

शुक्रबार बिहान करिब ११ बजेतिर पैगम्बर मोहम्मदका बारेमा सामाजिक सञ्जालमा गरिएको आपत्तिजनक टिप्पणीलाई लिएर मुस्लिम समुदाय आन्दोलित बनेपछि स्थिति तनावग्रस्त भएको थियो । सो क्रममा बजरंग दलका युवाहरु पनि सडकमा उत्रिएपछि दुवै समुदायबीच झडप सुरु भएको थियो ।

तनाव बढ्दै गएपछि सुरक्षा कारण देखाउँदै नेपालीलाई जोगवनी प्रवेशमा रोक लगाइएको थियो । ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सीमा क्षेत्रमा कडाइ गरिएको थियो ।

तर, अपरान्हतिर परिस्थिति सहज बन्दै गएपछि नाका सुचारु गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनले भने, “जोगवनीतर्फ अवस्था सामान्य भएको जानकारी आएपछि नाका सञ्चालनमा ल्याइएको हो । तर, फेरि असामान्य अवस्था देखिए तत्काल आवतजावत रोकिनेछ ।”

तनावका कारण किनमेलका लागि जोगवनी गएका नेपाली हतारहतार फर्किएका थिए । केही संरचनामा तोडफोडसमेत भएको समाचार सार्वजनिक भएको छ । स्थिति नियन्त्रणमा लिन भारतीय सुरक्षाकर्मीको ठूलो संख्यामा परिचालन गरिएको थियो ।

भारतीय अधिकारीहरुले दुवै समुदायलाई संयमता अपनाउन आग्रह गर्दै वार्तामार्फत विवाद समाधान गर्न आह्वान गरेका थिए । उनीहरुको पहलपछि अवस्था सामान्य बनेको बताइएको छ ।

नेपाली प्रशासनले भने सर्वसाधारणलाई जोगवनी जाँदा सावधानी अपनाउन आग्रह गरेको छ । स्थिति पूर्ण रूपमा सामान्य भएपछि मात्र सीमा सहज रुपमा प्रयोग गर्न सकिने प्रशासनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार