पाँचथर : राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको मध्यपहाडी लोकमार्गको पाँचथर खण्ड निर्माण व्यवसायीको चरम लापरबाहीका कारण लथालिंग अवस्थामा पुगेको छ । थर्पुदेखि चिवाभञ्ज्याङसम्मको ५१ किलोमिटर सडक वर्षायाममा झन् सास्तीको कारण बनेको हो ।
रोशन शिवशक्ति जेभी र सन्तोषी शिवशक्ति जेभीले सडक कालोपत्रे गर्ने जिम्मा लिए पनि कामदारलाई पारिश्रमिक नदिएका कारण गत असारमा करिब १ सय ५० मजदुर काम छाडेर हिँडेका थिए । हालसम्म पहिलो खण्डमा २७ प्रतिशत, दोस्रोमा १४ प्रतिशत र तेस्रोमा ४९ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सम्झौता अनुसार यो सडक २०७८ सालमै सकिनुपर्ने भए पनि सरकार पक्षले तीन पटकसम्म म्याद थपिसकेको छ । अन्तिम म्याद आउँदो मङ्सिरमा सकिँदैछ ।
याङवरक गाउँपालिका–१ का वडा सदस्य नरबहादुर गुरुङका अनुसार ठेकेदारले करिब एक करोड रुपैयाँ मजदुरलाई भुक्तानी गर्न बाँकी छ । आवश्यक उपकरण, औजार र जनशक्ति नखटाएको भन्दै आयोजनाका प्रमुख दिपेन्द्र पाण्डेले समेत असन्तोष व्यक्त गरेका छन् । उनका अनुसार, सन्तोषी शिवशक्ति जेभीले दोस्रो खण्ड झन् बढी लथालिंग बनाएको छ ।
याङवरक–४ दारिम्बादेखि ओयाम, फलैंचा हुँदै सिक्किमसँग जोडिने चिवाभञ्ज्याङसम्म सडक विस्तार गर्न पटक–पटक दबाब दिइएको भए पनि निर्माण कम्पनीले काममा गति नदिएको स्थानीयहरुको गुनासो छ । गाउँपालिका अध्यक्ष भिमबहादुर योङयाले काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो सरकारले बारम्बार म्याद थपेर पुरस्कृत गरेको आरोप लगाएका छन् ।
सडक लथालिंग हुँदा पाँचथरको याङवरक–१, २, ३ र ताप्लेजुङको सिदिङवा–१, २ का बासिन्दा मारमा परेका छन् । वर्षायाममा खाद्यान्न तथा उपभोग्य सामग्री ढुवानीमा कठिनाइ भइरहेको चालक जितेन सुब्बाले बताए । उनका अनुसार, थर्पुदेखि च्याङथापु सम्मको २१ किलोमिटर पार गर्न वर्षा अघि दुई घण्टा लाग्ने ठाउँ अहिले दिनभर लाग्ने गरेको छ ।
२०७६ माघमा १ अर्ब २५ करोड रुपैयाँमा सम्झौता गरिएको यो सडकमा गत वर्षको बाढीले बनाइएका कजवे, कल्भर्ट र पुलसमेत बगाएको छ । ठेकेदार सुरेन्द्र पाठकले कोरोना महामारी, नाकाबन्दी र बन्द–हड्तालका कारण काम प्रभावित भएको जिकिर गरे पनि स्थानीयहरु भने यसलाई बहाना मात्र बताउँछन् ।
पूर्वी नेपालको पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म जोडिने मध्यपहाडी राजमार्ग १ हजार ८ सय ७९ किलोमिटर लामो छ । तर, सुरु भएको १७ वर्ष बित्दा पनि पाँचथरको दारिम्बा–चिवाभञ्ज्याङ खण्ड अझै अधुरो रहँदा राष्ट्रिय गौरवको यो आयोजना नै प्रश्नचिह्नमा परेको छ ।
प्रतिक्रिया