इलाम : चाडपर्व नजिकिँदै गर्दा इलाममा बजार अनुगमन त हुन्छ, तर कारबाही भने कहिल्यै नहुने गरेको उपभोक्ताले गुनासो गरेका छन् । अनुगमनका क्रममा अवैध सामानदेखि म्याद गुज्रिएका सामग्रीसम्म भेटिए पनि व्यापारीलाई चेतावनी दिने भन्दा अघि बढ्न नसक्ने परम्परा यथावत छ ।
जिल्ला प्रशासन कार्यालय र इलाम नगरपालिकाले छुट्टाछुट्टै टोली बनाएर बजार अनुगमन थालेका छन् । तर, उपभोक्तालाई राहत पुग्ने गरी ठोस कारबाही हुन नसक्दा व्यापारी अझै पनि मनपरी मूल्य लिने र म्याद गुज्रिएका सामान बेच्ने कार्य रोकिएको छैन ।
बजारमा मूल्यसूची राख्नुपर्ने कानूनी व्यवस्था भए पनि अधिकांश पसलमा मूल्यसूची देखिँदैन । तर, त्यसका लागि अहिलेसम्म कसैलाई कारबाही गरिएको छैन । अनुगमनका क्रममा अवैध भारतीय रक्सी, कर छलि गरेर भित्र्याइएको भारतीय नुडल्स लगायत सामग्री भेटिए पनि कुनै व्यापारीलाई धरपकड वा जरिवाना गरिएको छैन ।
उपभोक्ताले बजार अनुगमनलाई ‘फोटो सेसन मात्र हुने, कारबाही भने शून्य रहने’ भन्दै आक्रोश पोखेका छन् । उनका अनुसार, अनुगमनले न व्यापारीलाई नियन्त्रण गर्छ न त उपभोक्तालाई राहत दिलाउँछ ।
स्थानीयबासीले अब चाडपर्वलाई लक्षित गर्दै हुने बजार अनुगमन प्रभावकारी बनाउन, अवैध र म्याद गुज्रिएका सामान बेच्ने व्यापारीलाई कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।
प्रतिक्रिया