दसैँमा सार्वजनिक यातायात सेवा: यातायात मजदुर र व्यवसायीले यसो गर्नुपर्छ

सोमबार, १३ असोज २०८२

अहिले हामी नेपालीहरूको महान् पर्व दसैँको माहोलमा छौं, दसैँका विशेष र महत्वपूर्ण दिनहरू बाँकी नै छन् । आम नागरिक चाड मनाउन, आफन्तसंग भेटघाट गर्न घर फर्किने, आफन्तकामा जाने, उपभोग्य वस्तु खरिदबिक्रीका लागि आवतजावतका कामहरू भइरहेका छन् । यतिबेला लामो दुरी होस् या छोटो दुरी सबै रुटका सार्वजनिक सवारीसाधनहरू यात्रुहरूले भरिभराउ छन् । 

सार्वजनिक यातायातलाई यात्रुहरूको सेवामा भ्याइनभ्याइ छ । सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायी र यातायात मजदुरहरूसँग नागरिकका धेरै गुनासोहरु छन् जस्तै, सरकारले तोकेको भन्दा बढी भाडा असुल्यो, सिटको टिकट काटेर उभ्याएर वा मुढामा राखेर यात्रा गरायो, टिकट काटेको भन्दा अर्कै गाडीमा पठायो, बाटोमा खाना हाने होटेलमा लुटायो, भनेको समयमा गाडी हिँडाएन, आधार बाटोमा बिचल्ली बनायो पैसा फिर्ता दिएन, झर्किफर्की र दुर्व्यवहार भयो । 

सार्वजनिक यातायात क्षेत्र सेवा क्षेत्र हो र अति आवश्यक र महत्वपूर्ण क्षेत्र हो । यो क्षेत्रप्रति जनताको ठुलो अपेक्षा छ, आशा र विश्वास छ । भलै नेपालको यातायात क्षेत्र निजी क्षेत्रमा आधारित छ सरकारले लगानी संरक्षणको नीति बनाएको छैन, काम गर्ने मजदुरहरूको सुरक्षाको प्रत्याभूति छैन, यात्रुहरूलाई भरपर्दो सेवाको योजना छैन । तर, अहिले यसको समग्र सञ्चालन र व्यवस्थापन यातायात मजदुर व्यवसायीहरूले गरिरहेकाले सकेसम्म जनताका गुनासोलाई समाधान गर्ने दायित्व पनि मजदुर व्यवसायीहरूकै छ । 

तसर्थ, सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउन, सुरक्षित बनाउन, मर्यादित बनाउन चालक, सह चालक, परिचालक, बुकिङ तथा व्यवसायीहरूले निम्न कामहरू गर्ने प्रतिबद्धता गर्नुपर्दछ ।  

बढी भाडा नलिने, यात्रुहरूलाई नढाँट्ने

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नर्मल, डिलक्स र सुपर डिलक्स वर्गीकरणका आधारमा निर्धारण गरेको भाडा दर सबैले आ आफ्नो सवारीसाधनमा र बुकिङ काउन्टरहरूमा सबै यात्रुहरूले देखिने गरी टाँस्न र सोही अनुसार भाडा लिन र टिकट काट्नु पर्दछ । यात्रुसँग बढी भाडा लिएको उजुरी परे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (थ) र दफा १६० को (ख) अनुसार १ हजारदेखि ५ हजारसम्म जरिवाना र कानुनी कारबाही हुने ऐनको व्यवस्था बारे सबै सजग हुनुपर्दछ ।  बढी भाडा नलिने, टिकट काट्ने बेलामा भनेको भन्दा फरक सिटमा राख्ने, सिटको पैसा लिएर टुलमा राखेर यात्रा नगराउने । यस्ता कार्यहरू कानुनी रूपमा दण्डनीय छन् । त्यस्ता कार्य कसैले नगर्ने ।

यात्रु तानातान र अनावश्यक सोधी खोजी नगर्ने

बसपार्कमा यातायात मजदुरले तानातान गरेर यात्रुका झोला एउटा गाडीमा, बालबच्चा अर्को गाडीमा, श्रीमती अर्कै गाडीमा र श्रीमान फरक गाडीमा हाल्छन् भन्ने भनाइलाई गलत साबित गरिदिनुपर्छ । यात्रुहरू सचेत भइसकेका छन् यात्रा गर्ने हाम्रै सवारीसाधनहरूमा हो । जसको भएपनि उहाँहरु चढ्ने सार्वजनिक सवारीसाधनमै हो भन्ने हामी सबैले अब नबुझे कहिले बुझ्ने ? तानातान गर्नु, अनावश्यक सोधी खोजी गर्नु असभ्य त हुँदै हो यो त अपराध पनि हो । यस्तो कर्म कसैलेपनि गर्नुहुँदैन ।     

अस्वस्थ प्रतिस्पर्धा र उछिन् पाछिन् नगर्ने 

अरूले भन्दा बढी कमाउनै पर्ने, अरूले भन्दा बढी ट्रिप गर्ने पर्ने, अघि हिँडेको सवारीसाधनलाई उछिन्नै पर्ने, लेन अनुशासन मिचेरै भएपनि अघि बढ्नै पर्ने जस्ता मानसिकता रोगी मानसिकता हो । सडकहरू सीमित छन् भएका सडकहरूको अवस्था जीर्ण छ, सडकका छेउछाउ हाटबजारहरू छन् पैदल यात्रीदेखि सबै प्रकारका सवारीसाधनहरू एउटै सडकमा गुड्नु पर्ने अवस्था छ । पहाडका सडकहरू घुम्ती र साँघुरा छन् जसका कारण सडक दुर्घटना हुने, जाम हुने हुँदा जनधनको ठुलो क्षतिको सम्भावना हुन्छ । यस्ता विषयहरू देश, समाज, परिवार र स्वयम मजदुरहरूलाई गम्भीर सङ्कटमा पार्ने हुँदा सुरक्षित यात्रा गर्नुपर्छ, होसियारीपूर्वक ट्राफिक अनुशासनमा रहेर सवारी चलाउनुपर्छ ।

सडकको अवस्थाको सूचना ग्रहण गर्ने

मुग्लिन नारायणगढ सडक अन्तर्गत तुइन खोला पहिरोमा ४५ घण्टासम्म सवारीसाधनहरू फसेको यात्रुहरू बिचल्ली परेको घटनाबाट पाठ सिक्नुपर्छ । त्यस्ता विपद्हरूबाट आफू बच्न र यात्रुहरूलाई बचाउन यात्रा गर्नुअघि गन्तव्यसम्मको सडकको अवस्था बारे जानकारी लिएर मात्रै यात्रा तय गर्नुपर्छ । बाटोमा चिया, खाना तथा रिफ्रेस मेन्टका लागि विश्राम गर्दा सुरक्षित स्थानको पहिचान गरेर मात्रै सवारी रोक्नु राम्रो हुन्छ । 

यान्त्रिक परीक्षण र क्षमतालाई ध्यान दिने

यात्रुहरूको चाप र आम्दानीको लोभले सवारीसाधन निरन्तर रुटमा कुदाउने । सवारीसाधनको आधारभूत चेकजाँच तथा मर्मतसम्हार नगर्ने बानीले दुर्घटना निम्त्याउँछ । यात्रुलाई गन्तव्यमा पुर्‍याइसकेपछि प्रत्येक ट्रिप लगतै आफ्ना सवारीसाधनको यान्त्रिक परीक्षण गर्नुपर्छ ।  यात्रुहरूलाई प्यासेजमा खाँदेर, ढोकामा झुन्ड्याएर वा सवारीको क्षमता भन्दा बढी यात्रु नचढाउने । यात्रामा वा सेवा अवधिमा मादक पदार्थ, लागु पदार्थको सेवन नगर्ने र यात्रुहरूलाई समेत गर्न नदिने त्यस्ता यात्रुहरू भएमा प्रहरीलाई खबर गरिदिने । 

अनावश्यक बहादुरी नदेखाउने

बाढी आइरहेको खोला, खोल्सी, पहिरो झरिरहेको सडकहरूमा बलजफ्ती नगर्ने । खतरा हुनसक्ने सम्भावनाका कारण सवारीसाधन सञ्चालन गर्न रोकेको सडकमा जोखिम मोलेर सवारीसाधन नचलाउने, अनावश्यक बहादुरी नदेखाउने । यदि हाम्रा सवारी साधन बाटोमा बिग्रिएर रोकिने अवस्था आएमा यात्रुहरूलाई वैकल्पिक व्यवस्था गर्ने । 

टिकट बिना यात्रा नगराउने, हरेक यात्रुको विवरण राख्ने

लामो दुरीमा चल्ने सवारीसाधनमा अनिवार्य र सकिए छोटो दुरीका सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूले भाडा दिएपछि टिकट दिने व्यवस्था गर्ने । पैसा तिरेपछि टिकट पाउनु यात्रुको अधिकार हो । साथै यात्रुहरूको नाम ठेगाना सहितको विवरण सुरक्षित राख्ने उक्त विवरण प्रस्थान विन्दुका सुरक्षाकर्मीहरूको पोस्टमा उपलब्ध गराउने । 

सार्वजनिक चासोलाई ध्यान दिने

गुडिरहेका सवारीसाधनहरूमा यात्रुहरूलाई असार पुग्ने गरी ठुलो आवाजमा गीत तथा भिडियो नबजाउने, बिरामी, अशक्त, वृद्धवृद्धाहरु, साना बालबालिकाहरू यात्रारत हुन सक्छन् त्यस्ता कर्कश आवाजले उनीहरूलाई असर पार्न सक्छ भन्ने ख्याल गर्ने । लैङ्गिक हिंसा भड्काउने, महिलाहरूको अपमान हुने खालका गीतसङ्गीत वा भिडियो नबजाउने । 

यो पनि हाम्रै काम हो 

हर्न निषेधित क्षेत्रमा हर्न नबजाउने । लामो दुरीका सवारी साधनमा प्राथमिक उपचार बक्स राख्ने । यात्रुमैत्री व्यवहार गर्ने, बोल्दा सभ्य भाषाको प्रयोग गर्ने ।

जिम्मेवारी बोध गर्ने 

रात्रि सेवा होस वा दिवा सेवामा रहेका लामो दुरीका सवारीसाधनहरूले साँझ ९ बजेभित्र खाना खुवाउने, दिवा सेवामा हो भने १० बजेभित्र खाना खुवाइसक्ने । कमिसनको लोभमा खानाको स्तर नभएका होटेलमा खाना खुवाउँछ भन्ने बुझाइलाई अन्त्य गर्दै फ्रेस खाना, राम्रो र ताजा खाना पाइने होटेलमा सवारी लाने । सुगर, प्रेसर भएका यात्रुहरू हाम्रो सवारीसाधनमा हुनुहुन्छ भन्ने ख्याल दिने, रिफ्रेस (दिशा पिसाब) समय समयमा गराउने । 

सजग रहनुस्

खानपान र थकान दुर्घटनाको कारण बनेका कयौँ उदाहरणहरू छन् । धूम्रपान, मद्यपान सेवन, तनाव, निरन्तर कामले एक छिनलाई आराम, केही बढी कमाइ त होला तर त्यसले सडक दुर्घटना निम्त्याउँछ भने व्यक्तिगत रूपमा मजदुरहरूको स्वास्थ्यलाई गम्भीर असर पार्छ भन्ने भुल्नुहुँदैन ।  लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखानलाई ध्यान दिँदै हाम्रो जीवनलाई सन्तुलित बनाउनुपर्छ । जगत् नियाल्नका लागि जीवन चाहिन्छ, जीवन रहनका लागि स्वास्थ्य चाहिन्छ । परिवारका लागि पनि समय बचाउने । 

सरकारका तत्कालीन र दीर्घकालीन काम  

(क) देशैभरका मुख्य सडकहरूलाई सुचारु राख्न तत्काल एक्सन गर्ने गरी संयन्त्र निर्माण गर्नुपर्छ । त्यस्ता संयन्त्रहरूलाई चौबिसै घण्टा अलर्ट राख्नु पर्छ । 

(ख) मुख्य सडक र वैकल्पिक सडकहरूको अप्ठ्यारा र जोखिमयुक्त सडकहरूमा सडक मर्मतका उपकरणहरू (लोडर, एक्स्काभेटर लगायत) परिचालन गरिरहनु पर्दछ । 

(ग) एकतर्फी सडक, साँघुरा सडक, चोक, मोड र पहिरो गएका स्थानहरूमा ट्राफिक प्रहरीहरूलाई तैनाथ गराउनु पर्छ । 

(घ) सडकको अवस्था बारे जानकारीका लागि सूचना प्रणालीको प्रभावकारी प्रवाह गर्नु पर्छ । 

अन्त्यमा,  

सार्वजनिक यातायात सेवा सुधारका लागि सरकारको लगानी र नीतिगत संलग्नता आवश्यक छ । यतिबेला सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउन, गुनासोरहित दसैँ बनाउन हामी सबैको योगदान जरुरी छ ।

(लेखक, राई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष हुन्)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार